सुचना डायरी–समाचारदाता
जनकपुरधाम, माघ १५ गते ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले आफूमाथी विद्यालयको जग्गा हड्पेको आरोप निराधार रहेको दावी गरेका छन् । वडाध्यक्ष साहमाथी वडामा रहेको रामजानकी आधारभूत विद्यालयको जग्गा हड्पेर जानकी पतञ्जली योग शिविरलाई जग्गा दिएको आरोप बदनियतपूर्ण ढंगले लगाइएको बताए ।
वडा नम्बर ७को विद्यालयसंग जग्गाको लालपूर्जा नै नरहेको अवस्थामा आफूले कसरी विद्यालयको जग्गा हड्पे प्रतिप्रश्न गरे । उनले वडामा जानकी सरोवरको पूर्वी डील तथा पश्चिमी डीलमा रहेको २ बिघा १३ कठ्ठा ५ धुर एलानी जग्गामा समाजको सहमतिमै विद्यालय र योग शिविर राख्ने निर्णय भएको दावी गरे । उनले विद्यालय स्थापना भएको २५÷३० वर्ष भई सकेको तर वडाका समाजकै अगुवाहरुको बैठक बसेर २०७० साल चैत १५ गते योग शिविरका लागि पोखरीको पूर्वी डीलमा जग्गा उपलब्ध गराउने सहमति भएको बताए ।वडाध्यक्ष साहले भने ‘न म विद्यालयको जग्गा हड्पेको छु, न योग शिविरको नै, त्यहाँ समाजकै भलाईका लागि यो शिविर संचालनमा ल्याएको छ ।’ अगाडी भने ‘ शिक्षा र स्वास्थ्य सबैका लागि महत्वपूर्ण हुन्छ, मेरो वडामा एकै ठाउँमा शिक्षाका लागि विद्यालय र स्वास्थ्य दुरुस्त राख्नका लागि योग शिविर एकै ठाउँमा हुनु खुशीको विषय हो ।’
गैरकानूनी रुपमा आफू विद्यालयको अध्यक्ष रहेको आरोप समेत तर्कसंग नरहेको वडाध्यक्ष साहको भनाई थियो । नगरपपालिकाको बोर्ड बैठकबाटै निर्णय भएर आफू विद्यालयको अध्यक्ष बनेको भन्दै यसमा गैरकानूनी रुपमा अध्यक्ष बन्ने विषय नरहेको वडाध्यक्षले दावी गरे ।वडाध्यक्ष साहले भने‘ आफूले त्यहाँ रहेको विद्यालय, पोखरी, योग शिविरको सौन्दर्यीकरण तथा संरक्षणका लागि काम गर्दै आएको छु न कि जग्गा हड्पनका लागि ।’