सुचना डायरी–समाचारदाता
जनकपुरधाम, माघ १६ गते ।
तराई मधेशमा बढदै गएको चिसोले जनजीवन कष्टकर बनेको छ ।
धनुषासहितका मध्यपूर्वी तराईमा धेरै बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको छ । पछिल्लो एक सातायता घाम नदेखिएर लगलगी मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको हो ।
जताततै हुस्सुले डम्म ढाकेको छ । बेगले बहने चिसो स्याँठ र लगातारजसो परिरहेको तुषारोले जाडो बढाएपछि कतै काममा निस्कन नसकेर कैदीजस्तै बनिएको मिथिला नगरपालिकाका बासिन्दा बताउँछन् ।तराईमा जाडो बढेपछि मिथिला नगरपालिकाले माघ २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
केही दिनदेखि शीतलहर बढेपछि विद्यार्थीहरुलाई विद्यालय जानमा समस्या हुन थालेपछि मिथिला नगरपालिकामा नगरभित्रको सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु आइतबारदेखि ५ दिनसम्मको लागि बन्द गर्ने निर्णय गरेको हो ।
वाक्लो हुस्सु र शितलहरको कारण जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएपछि बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गरी नगरपालिकाले माघ २१ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयहरुमा जाडो विदा दिएको मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डंगोलले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।
जाडोको समयमा बालबालिकाहरु सबै भन्दा बढ़ी प्रभावित हुने भएकोले नगरपालिका भित्र रहेका निजी तथा सामुदायिक सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । साथै सामुदायिक विद्यालयहरूको अर्धवार्षिक परिक्षा सकिएको हुँदा उक्ता विदा अवधिभरी उत्तरपुस्तिका परिक्षण गरी गराइ विदा उपरान्त नतिजा प्रकाशन गरी नतिजा विवरण सहित शिक्षा, युवा तथा खेलकुद शाखामा जानकारी दिन समेत प्रमुख प्रशासकीय अधिकृत डंगोलले सूचना मार्फत भनेका छन् ।