सुचना डायरी–समाचारदाता
जनकपुरधाम, माघ १६ ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले ५ वर्षका लागि नेपाली जनताले आ–आफ्नो जनप्रतिनिधि पठाएपनि मुलुकलाई अस्थिर बनाउनकै लागि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए ।
पुर्व उप–प्रधान तथा गृहमन्त्री समेत रहेका निधिले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मुलुकलाई दुर्घटना तर्फ धकेलेको आरोप लगाएका छन् । उनले ५ वर्षका लागि नेपाली जनताले आ–आफ्नो जनप्रतिनिधि पठाएपनि मुलुकलाई अस्थिर बनाउनकै लागि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए ।
उनले संसद विघटन प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, सर्वसत्तावादी र वर्चश्ववादी कदम रहेको जिकिर समेत गरे । नेता निधिले संसद विघट गरेर प्रधानमन्त्रीले जनता र मतदाताको अपमान गरेको दावी गरे ।
शुक्रबार महोत्तरीको जलेश्वरमा स्वर्गीय रामनारायण मिश्रको शालिक अनावरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको रक्षाका लागि प्रतिनिधिसभा आवश्यक रहेको बताए ।
उनले भने,‘देश, जनता, प्रणाली र संविधानका लागि प्रतिनिधिसभा प्राप्त गर्नु आवश्यक छ । त्यसका लागि दुईवटा संवैधानिक बाटो छ । सर्वोच्चद्धारा संसद पुनस्र्थापना र निर्वाचनद्धारा प्रतिनिधिसभाको गठन बाहेक अन्य कुनै विकल्प छैन् । यी दुबै विकल्प संवैधानिक छन् । अहिलेको वर्तमान परिस्थितीमा दुबै विकल्पका लागि जनता र राजनीतिक दलहरु तयार हुनुपर्दछ ।’
लोकतन्त्र र संविधानको रक्षाका लागि प्रतिनिधिसभा अत्यन्त आवश्यक रहेको उनले बताए । ‘जनतालाई कुनैपनि हालतमा प्रतिनिधिसभा चाहिन्छ । तर ,प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर जनताको जनादेश एवं मतदाताको मतको अपमान गरेका छन् ।’ निधिले थपे ।
नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयन नै नेपाली काँग्रेसको मुख्य एजेण्डा रहेको बताए । उपसभापति निधिले नेपाली काँग्रेसले यसअघि १४औँ महाधिवेशनका लागि गरेको तयारी अहिलेलाई थाँती राखेर निर्वाचनमा लाग्नु आफ्नो पहिलो प्राथमिकतामा राखेको बताए । उनले भने,‘संसद पुनस्र्थापना भए पार्टीको १४ औं महाधिवेशन पहिले हुन्छ । तर निर्वाचन पहिले भए महाधिवेशन पछि हुनेछ ।’
वर्तमान परिस्थितीको समाधान प्रतिनिधिसभा रहेको जिकिर गर्दै निधिले संसद पुनस्र्थापना र निर्वाचनकै माध्यमले प्रतिनिधिसभाको स्थापना गर्नु दुबै विकल्पका लागि नेपाली काँग्रेस तयार हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउदले नेपालमा सबभन्दा बलियो मधेशी पार्टी नेपाली काँग्रेस नै रहेको दावी गरे । उनले मधेश र नेपाली काँग्रेस एकअर्काको पर्याय रहेको जिकिर समेत गरे । संसद विघटनको कदम प्रधानमन्त्रीको अप्रजातान्त्रिक कदम रहेको बताउँदै उनले निर्धारित समयमा निर्वाचन गराउन नसके प्रधानमन्त्री ओली एक मिनेट पनि सत्तामा रहन नसक्ने दावी गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगाना, स्मृतिनारायण चौधरी, प्रदेश २ को संसदीय दलका नेता रामसरोज यादव, स्वर्गीय रामनारायण मिश्रका पुत्र हरिशंकर मिश्रलगायतकाहरुले आ–आफ्नो धारणा राखेका थिए ।