जनकपुरधाम, माघ १७ गते ।
सडक विस्तारको क्रममा गैरकानुनी तवरले स्थानीयवासिन्दाको जग्गा अतिक्रमण गर्न खोजेपछि धनुषाको विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासको विरोध भएको छ । हुलाकी राजमार्ग आयोजनाको निर्माणाधीन विरेन्द्र बजार—महिनाथपुर सडक खण्ड अन्तर्गत विदेह नगरपालिकाकाको वडा नंं। ६ स्थित तिनकौरियामा नगर प्रमुख दासले अदालतको आदेश विपरित काम गराउन खोजेपछि त्यसको विरोध भएको हो । नगर प्रमुखले कानुन मिचेर आफ्नो पदीय दायित्व विपरित कार्य गर्न खोजेकाले प्रतिकारमा उत्रिन बाध्य भएको स्थानीय राजकुमार मण्डलले दुखेसो पोखे । उनले भने “ निर्माण कम्पनीले बाटो बनाइरहँदा मेयर,विद्यालयका प्रधानाध्यापक लगायतका केही व्यक्तिहरु नक्सा विपरित काम गर्न दबाव दिएपछि काम बन्द भयो, त्यसपछि उनीहरु आफैले व्यवहारिक सहमति गरेर पर्खाल दिन लगाए, पछि मेयर लगायतका दलबलले जबरजस्ती त्यो पर्खाल पनि भत्कायो, अहिले आएर अदालतको आदेश विपरित स्थानीयको जग्गा नै अतिक्रमण गर्न लागि परेका छन् । ”
एक दर्जनभन्दा बढी स्थानीयवासीको जग्गा अतिक्रमण हुने गरी नक्सा विपरित बाङ्गो सडक बनाउन थालिएपछि विवाद उत्पन्न भएको स्थानीय मनोज कुमार गुप्ताको भनाई छ । उनले भने “३२ किलोमीटर निर्माण हुने भनिएको सडक खण्डमा सम्पूर्ण निर्माण पुरा भइसकेको छ तर, मेयर दासको दादागिरीका कारण तिनकौरियामा करिब ४ सय मीटर सडकको काम सम्पन्न हुन सकेको छैन, विद्यालय र एक वडाध्यक्षको जग्गा बचाउन उनीहरुले जबरजस्ती स्थानीयको जग्गामा पर्खाल सार्ने प्रयास गर्दै आएका छन् , मेयर जस्तो पदमा बसेका व्यक्तिले अदालतको आदेश अवहेलना गर्नु दुःखद विषय हो ।”
स्थानीयबासिन्दाले विरोध गरिरहँदा सम्बन्धित वडाका वडाध्यक्ष पनि नगर प्रमुख दासले कानुन मिच्न नपाउने जिकिर गरेका छन् । वडाध्यक्ष जयराम मण्डलले भने “मापदण्ड विपरितको कार्य हुनु गलत हो, अदालतको आदेश र मापदण्ड अनुसार काम हुनु पर्छ , अदालतको आदेश अवहेलना गर्नु पनि अपराध नै हो, त्यसैले जबरजस्ती कार्य अघि बढाइए त्यो काम बन्द गराउँछु ।”
मापदण्ड अनुसार ३० मिटर चौडा सडक निर्माण गर्नका लागि २०६६ सालमा मुआब्जासमेत कायम भईसकेको अवस्थामा तत्काल भने १६ मिटर चौडा सडक निर्माणका लागि ठेक्का स्वीकृत भइ कार्य भइरहेको छ ।
जस अनुसार मूल सडकको केन्द्रलाई आधार मानी दुवै तर्फ ८(८ मीटर जग्गा अधिग्रहण गर्नु पर्नेमा नगर प्रमुख लगायतका व्यक्तिले एकतर्फी रुपमा स्थानीयको जग्गा अधिग्रहण गर्न÷गराउन खोज्दा स्थानीयबासिन्दाले उच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । स्थानीयबासिन्दाले हुलाकी राजमार्ग योजना कार्यालय, ठेक्केदार पप्पु जेभी, नगर प्रमुख बेचन दास, वडा नं। ६ को कार्यालय, वडाध्यक्ष जयराम मण्डल सहित १० जनालाई विपक्षी बनाई उच्च अदालत जनकपुरमा दायर गरेको मुद्दामा न्यायधिशद्वय बालकृष्ण उप्रेती र ध्रुवराज नन्दको संयुक्त इजलासले पुनः मापदण्ड अनुसार सडक निर्माण गर्नरगराउन विपक्षीहरुको नाममा २०७६ जेठ १४ गते अन्तरिम आदेश जारी गरेको थियो । आदेशमा भनिएको छ “हुलाकी राजमार्ग सडक निर्माण विस्तारको आयोजना सम्पन्न गर्ने प्रायोजनार्थ जग्गा प्राप्तिका लागि प्रकाशित भएको सूचना, सडकको लगत इष्टिमेट, प्रस्तावित सडकको नाप नक्सा समेतका प्रमाणहरुका आधारमा अधिग्रहणमा परेका जग्गामा मात्र सडक निर्माण विस्तार गर्नु, हुलाकी सडक आयोजनाले सडक निर्माण विस्तार गर्नु पूर्व सम्बन्धित जग्गाधनीहरुको नाममा जारी गरेको जग्गा प्राप्तिको सूचनालाई आधार मानी सोही सूचनामा उल्लेखित प्रक्रियाको आधारमा मात्र सडक निर्माण विस्तारको कार्य गर्नु गराउनु, उल्लेखित आयोजना संचालन कार्यान्वयनमा कुनै पनि प्रकारको अवरोध र बिलम्ब नगरी तोकिएकै समयमा सडक निर्माण विस्तारको कार्य सम्पन्न गर्नु भनि विपक्षीहरुको नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ ।”
अदालतले स्पष्टरुपमा कुनै प्रकारको अवरोध नगर्न भनिरहँदा केही साता पूर्व मात्र नगर प्रमुख दास लगायतका व्यक्तिहरुले बल प्रयोग गरि डोजर लगाएर निर्माणाधीन पर्खाल भत्काइ दिएका थिए । नक्सा अनुसार काम गरिरहँदा जनप्रतिनिधीले नै पर्खाल भत्काउन लगाएपछि थप आर्थिक भारको कारण देखाउँदै निर्माण कम्पनीले काम रोकेको छ भने, स्थानियवासिन्दाले अदालतको अवहेलना भएको भन्दै थप कानुनी उपचार तर्फ केन्द्रित भएका छन् ।
यसैबीच नगर प्रमुख बेचन दासले सडक निर्माणमा देखिएका विवाद छिट्टै समाधान गरि निर्माण कार्य तिब्र बनाइने प्रतिक्रिया दिएका छन् । दासले भने “ म माथि लगाइएको आरोप गलत हो, म पनि अदालतको आदेश र मापदण्ड अनुसार नै काम गर्नेरगराउने पक्षमा छु । ”
Discussion about this post