जनकपुरधाम, वैशाख १० ।
प्रदेश २ को नामको लागि ६ वटा र राजधानीको लागि ७ वटा प्रस्ताव दर्ता भएको छ । नामको लागि मधेश प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश, जानकी प्रदेश र मध्यमधेश प्रदेश दर्ता भएको छ । त्यस्तै राजधानीको लागि जनकपुरधामको पक्षमा ५ वटा र वीरगंजको पक्षमा २ वटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव रंजित कुमार यादवले जानकारी दिए ।
सत्तारुढ दल जनता सामाजवादी पार्टी (जसपा) को तर्फबाट पार्टीका सचेतक शैलेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रको दलका नेता भरत प्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश दर्ता गराएका छन् । त्यस्तै नेकपा एमालेका प्रमोद कुमार यादवले जानकी, एमालेकै शारदा देवी थापाले जनक प्रदेश, नेपाली काँग्रेसका शिवचन्द्र चोधरीले मिथिला भोजपुरा प्रस्ताव दर्ता गराएका छन् ।
नेपाली काँग्रेसकै सांसद राजेश्वर प्रसाद साहले मध्यमधेश प्रदेश प्रस्ताव दर्ता गराएको सचिव यादवले बताए । मध्यमधेश प्रदेश प्रस्तावको समर्थन सांसदहरु शंकर प्रसाद चौधरी, ओमप्रकाश शर्मा र आशिया देवी थरुनीले गरेकी छिन् ।
त्यस्तै राजधानीमा ७ वटा प्रस्ताव दर्ता भएको छ । जनकपुरधामको प्रस्ताव ५ वटा र वीरगंजको लागि दुईवटा प्रस्ताव दताए भएको छ ।
राजधानीको लागि राजेश्वर प्रसाद साह र सिंगासन साह कलवारले वीरगंजलाई राजधानीको रुपमा प्रस्ताव दर्ता गराएका छन् । भने बाँकीले जनकपुरधामलाई स्थायी राजधानीको रुपमा प्रस्ताव दर्ता गराएका छन् ।
प्रदेशसभाका सचिव यादवले प्रस्ताव दर्ता भएपनि निर्वाचनको समय अहिले नतोकिएको बताए । प्रदेश २ को प्रदेशसभा बैठक आज १ बजे बस्ने छ ।