जनकपुरधाम, वैशाख १३ ।
कोरोना संक्रमणको दोस्रो लहर शुरु भएसंगै संक्रमितहरुको उपचारका लागि जानकी मेडिकल कलेजमा २ सय शैय्याको व्यवस्था गर्न लागिएको हो ।
कोरोना संक्रमणको दोस्रो लहरमा धनुषा लगायतक प्रदेश २का अन्य जिल्लाहरु समेत उच्च जोखिममा रहेकाले जानकी मेडिकल कलेजले २ सय शैय्याको व्यवस्थापन गर्न लागेको हो । कोरोना संक्रमितहरुको उपचारमा कुनै पनि किसिमको समस्या उत्पन्न हुन नदिनका लागि मेडिकल कलेजले आफ्नो अग्रसरतामा यसको व्यवस्थापनका गर्न लागिएको कलेजका पब्लिक रिलेशन अफिसर नरेश महासेठले जानकारी दिए । महासेठका अनुसार शैय्या व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भई सकेको र चाँडै नै प्राविधिक कार्यहरु समेत पूरा गरेर संचालनमा ल्याइने छ ।
उनले कोरोनाको लहर फेरी संक्रमितहरुलाई आक्रान्त बनाईरहेकोले स्वास्थ्य संस्थाको दायित्व नै रोगीको उपचारमा शतप्रतिशत दिनु रहेको बताए । महासेठले जानकी मेडिकल कलेजले कोरोना संक्रमण नियन्त्रणका लागि भइपरी आउने सम्पूर्ण कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जानकी मेडिकल कलेजमा २ सय शैय्याको व्यवस्थापनका लागि संघ सरकार, प्रदेश सरकार र प्रादेशिक अस्पतालले समेत समन्वय गर्ने छ ।