जनकपुरधाम, वैशाख २१ ।
धनुषामा एक जना कोरोनाका शंकास्पद बिरामीको उपचार अभावमा मृत्यु भएको छ । ५ दिनदेखि रुघाखोकी तथा ज्वरोको समस्या देखिएको सो बिरामीले उपचार नपाएपछि मृत्यु भएको बताइएको छ ।
कोरोना जस्तै लक्षण देखिएको धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ४ ससुरालीमा रहँदै आएका ४५ वर्षीय लोकबहादुर परियारको उपचार अभावमा मृत्यु भएको हो । केही दिनन यतादेखि रुघाखोकी तथा ज्वरोको समस्याबाट ग्रस्त परियारलाई सोमबार राति ८ बजे श्वासप्रश्वासमा एकाएक समस्या देखिएपछि उपचारका लागि जनकपुरधाम ल्याइएको थियो ।
प्रादेशिक अस्पताल जनकपुर तथा जनकपुरकै अन्य अस्पतालहरुमा उपचारका लागि भर्ना गराउन पुग्दा बेड खाली नरहेको भनेर फर्काइएपछि अन्त्यमा बटेश्वरकै एक स्थानीय क्लिनिकमा लाँदै गरेको अवस्थामा मृत्यु भएको एम्बुलेन्स चालक रामबाबु महतोले बताए । बटेश्वर बजारको आरपी मेडिकल हलमा पुग्दा मृत्यु भएको एम्बुलेन्स चालकले बताए । उनको अक्सिजन अभावका कारण मृत्यु भएको बताइएको छ ।
बटेश्वर बजारको आरपी मेडिकल हलमा पुग्दा पहिले पैसा बुझाउनका लागि भनेको र बिरामीको आफन्तले आफूसंग पैसा नरहेको भनेपछि फर्कनका लागि एम्बुलेन्स चालक महतोले बताए ।
यता आरपी मेडिकल हलका संचालक सुवोध साहले आफ्नो क्लििनकमा भर्ना हुन नपाउँदै बिरामीको मृत्यढु भएको दावी गरेका छन् । उनले बिरामीलाई एम्बुलेन्समा नभई आफन्तहरुले काँधमै ल्याएको बताए । काँधमा ल्याईरहेको अवस्थामा हिलोमा चिप्लिएर बिरामी झर्दा चोटका कारण मृत्यु भएको दावी गरे ।
मेडिकल हल संचालक सुवोधले भने ‘बिरामीलाई हामीले छोएका पनि छैनौँ, मेडिकल हल पुग्न नपाउँदै हिलोमा चिप्लिएर बिरामीको मृत्यु भएको र आफन्तहरुले सो शव आफ्नो मेडिकल हल अगाडी राखेर घर फर्कि सकेका छन् ।’
मृतकको शव अहिले आरपी मेडिकलको बाहिरै रहेको छ । मृतकका आफन्त समेत शव छाडेर त्यँही छाडेर आफ्नो घर पुगेका छन् । आफन्त समेत छाडेर गएपछि अहिले वेवारिसे अवसस्थामा शव त्यही रहेको छ । मृतक परियार कोरोना संक्रमित रहे नरहेको कुरो भने अहिलेसम्म पुष्टी हुन सकेको छैन ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको कोभिड अस्पतालका संयोजक डा. जामुन सिंहले बिरामीलाई भर्ना नलिएको कुरो स्वीकार गरे । उनका अनुसार प्रादेशिक अस्पतालमा २६ बेडको आइसोलेसन मात्रै रहेको र ३२ वटा बिरामी आई सकेकाले थप बिरामी भर्ना गर्न नसक्ने स्थिति रहेको छ । डा. सिंहले भने ‘२६ वटा आइसोलेसन मात्रै छन्, थप आइसोलेसन बेड निर्माणको कार्य जारी छ त्यसैले हामी अहिले थप बिरामीलाई भर्ना लिन सकिरहेका छैनौँ ।’