जनकपुरधाम, वैशाख २१ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले निषेध आदेश जारी गरेपछि प्रदेश २को अस्थायी राजधानी जनकपुरधाम दिनभरी सुनसान देखियो । कोरोना संक्रमण तीव्रगतिमा फैलिदै गएपछि स्थानीय प्रशासनले मंगलबार (आज)देखि लागु हुने गरी वैशाख ३१ गतेसम्मका लागि निषेध आदेश जारी गरेको थियो ।
निषेध आदेशपछि जनकपुरधाममा सवारी साधन तथा मानिसको आवागमन समेत ठप्प भएको छ । त्यस्तै जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिर लगायतका प्रसिद्ध मन्दिरहरु समेत सुनसान देखिएको छ । जानकी मन्दिरको मुख्यद्वार नै सर्वसाधारणका लागि बन्द गरिएको छ भने अन्य मन्दिरहरुमा श्रद्धालु भक्तजनहरु अन्य दिन जस्तै पूजा अर्चनाका लागि समेत पुगेनन् ।
यता चोक चोकमा प्रहरी खटाइएकाले पनि सर्वसाधारण घर बाहिर निस्केनन् ।
पछिल्लो केही दिनयता जनकपुरधामसहित यस क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढ्दै गई रहेको छ ।