जनकपुरधाम, वैशाख २३ गते ।
प्रदेश २मा कोरोनाका बिरामीहरुलाई राख्नका लागि अस्पतालहरुमा बेडको अभाव हुन थालेपछि प्रदेश सरकारले १ सय शैय्याको कोभिड अस्पताल बनाउने तयारी शुरु गरेको छ । प्रदेश सरकारले जनकपुरधाम उपमहागरपालिका वडा नम्बर १४मा प्रयोग विहिन अवस्थामा रहेको मणिपाल शिक्षण अस्पतालको भवनलाई कोभिड अस्पतालको रुपमा विकास गर्ने तयारी थालेको हो । हुनत प्रदेश सरकारले कोरोनाको पहिलो लहर आउँदा समेत मणिपाल शिक्षण अस्पतालको सो भवनलाई आइसोलेसनको रुपमा प्रयोग गर्ने बताएको थियो । यद्यपि त्यो भवनलाई आइसोलेसनको रुपमा विकास गर्ने प्रदेश सरकारको घोषणा, घोषणामै सीमित रहेको थियो ।
फेरी कोरोना संक्रमणको लहर प्रदेश २मा तीव्रगतिमा फैलिन थालेपछि प्रदेश सरकारले २० दिन भित्रै प्रयोगमा ल्याउने गरी मणिपाल शिक्षण अस्पतालको सो जीर्ण भवनलाई कोरोना अस्पतालको रुपमा विकास गर्ने दावी गरिरहेको छ ।
पोहोर मुख्यमन्त्री लालबाबु राउतले मणिपाल शिक्षण अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गर्ने घोषणा गरेको केही महिना नबित्दै कोरोनाको लहर कम हुँदै जान लागेपछि त्यसको नाउँमा बजेट त खर्च भयो तर काम भने अगाडी बढ्न सकेन । एक वर्षमा पनि बन्न नसकेको मणिपाल शिक्षण अस्पतालको जिर्ण भवनलाई कोभिड अस्पतालको रुपमा विकास गर्ने तयारी फेरी थालिएको छ ।
यसका लागि प्रदेश सरकारको एक टोलीले मणिपालको सो भवनको बुधबार निरिक्षण समेत गरेको छ । त्यहाँ २० आइसीयु बेडसहित १ सय शैय्याको कोभिड अस्पताल संचालनमा ल्याइने मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक एवं सिनियर डिविजनल ईन्जिनियर भगववान झाले जानकारी दिए । उनका अनुसार त्यहाँ निरिक्षण गरेर मुचुल्का उठाउनुका साथै अनलाइन टेण्डरको प्रकृया समेत पूरा भई सकेको छ ।
निरिक्षणको क्रममा भवनको १२ वटा कोठा ताल्चा लागेको, २२ वटा कोठामा झ्याल ढोका नरहेको, भएका ढोकाहरु पनि जिर्ण अवस्थामा रहेको, २ वटा कोठाको छत चुरिहेको रंगरोगन नभएको पाइएको ईन्जिनियर झाले बताए ।
इञ्जिनीयर झाले अस्पताल सञ्चालनका लागि जनशक्ति भर्नाको प्रकृया समेत अगाडी बढाई सकिएको जानकारी दिए ।
भवनमा खानेपानी, वाथरुम फिटिंग, प्लम्बिंग, वायरिंग, प्लास्टर लगायतका कार्य गर्नुपर्ने आवश्यक्ता रहेको उनले बताए ।
निरिक्षणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत यमन सुन्दर श्रेष्ठ, जनकपुरधाम उपमहानगरपालिका–१४का वडा अध्यक्ष पुण्य प्रताप यादव, वडा सदस्य उपेन्द्र बिमल साह, नागरिक समाजका मुरलीमनोहर मिश्र र संगमलाल राउत, मणिपाल शिक्षण अस्पताल व्यवस्थापनमा रहेका सेक्युरिटी कमाण्डर योगेन्द्र कार्की, बिबि लोपचन, कृष्ण कार्की सहितको उपस्थिती थियो ।
किन बन्न सकेन मणिपाल शिक्षण अस्पाल ?
जनकपुरधाम उपमहानगरपालिकाको मुजेलियाभन्दा पश्चिम १७ वर्षअघि निर्माण शुरु गरिएको चिकित्सा शिक्षा शिक्षण अस्पतालको भवन विभिन्न विवादका कारण निर्माण हुन नपाउँदै त्यतीकै थन्केको अवस्थामा रहेको छ । शिक्षा क्षेत्रमा ख्याती कमाउन सफल भारतको मणिपाल समूहले जनकपुरधाम उपमहानगरपालिका–१३ धत्ताटोलमा शिक्षण अस्पताल निर्माण गर्न गुठी संस्थान जनकपुरसँग लिजमा जग्गा लिएको थियो । तर, मणिपाल समूहले निर्माण कार्य बीचमै छोडेपछि निर्माण गरिएका संरचना समेत ध्वस्त हुन थालेका छन् ।
मणिपाल समूहले २०५१ साउन ७ गते गुठी संस्थान जनकपुरसँग सम्झौता गरेर ४९ वर्षका लागि अस्पताल निर्माण गर्न १७ बिघा जग्गा लिजमा लिएको थियो । गुठी संस्थानलाई पहिलो वर्ष ७ लाख र त्यसपछि हरेक वर्ष १० प्रतिशत रकम थपेर मणिपाल समूले तिर्नुपर्ने सम्झौता छ ।
मणिपाल समूहले जग्गा लिजमा लिई निर्माण कार्य थालेपनि पुरा किन गर्न नसकेको भन्दै स्पष्ट कारण केहि भनेको छैन् । तर कतिपयले माओवादी द्वन्द्वको बेला चन्दा समस्या र तत्कालीन स्वास्थ्यमन्त्री डा रामवरण यादवको अनिच्छाका कारण बन्न नसकेको तर्क दिन्छन् ।
२५० शैय्याको शिक्षण अस्पतालको शिलान्यास तत्कालीन स्वास्थ्यमन्त्री तथा पूर्व राष्ट्रपति डा यादवले गरेका थिए ।
मणिपाल समूहले निर्माण कार्यअघि नबढाउँदा गुठी संस्थानले जग्गासम्बन्धी सम्झौता रद्द गर्ने तयारीसमेत गरेको थियो । गुठी संस्थानले २०७१ वैशाख १९ मा सम्झौता रद्द गर्न पत्र पठाएपनि कार्यान्वयनमा अहिलेसम्म आउन सकेको छैन् । सम्झौता अनुसार उद्देश्य अनुरुप काम नगरे र समयमा भाडा नबुझाएको खण्डमा सम्झौता रद्द गर्ने प्रावधान छ । तर मणिपाल समूहले सम्झौता अनुसार जग्गा भाडा अझै बुझाउँदै आएको गुठी संस्थान जनकपुरका प्रमुख बैकुण्ठ रेग्मीले जानकारी दिए ।
निर्माण कार्य पुरा नभएर सञ्चालनमा आउन नसक्दा करोडौंको संरचना प्रयोगविहीन भएको छ । नगर क्षेत्रभन्दा टाढा अस्पतालका लागि निर्माण गरिएका संरचना अहिले खण्डहर बन्न पुगेको छ । टायल्स, मार्बल प्रयोग गरी निर्माण गरिएको भवन प्रयोगविहीन भएपछि झ्याल, ढोका कुहिन थालेको छ ।
निर्माण गरिएका संरचना रेखदेख गर्न मणिपाल समूहले चारजना सुरक्षा गार्ड नियुक्त गरेको छ ।