जनकपुरधाम, वैशाख २३ गते
महोत्तरी मटिहानीका एक महिलालाई कोरोना संक्रमण भएपछि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको कोभिड १९ अस्पतालमा भर्ना गरियो । बुधबार दिउँसो भर्ना भएकी कोरोना संक्रमित सो महिलाको स्वास्थ्य अवस्था नाजुक हुँदै जान थालेपछि उनलाई भेन्टिलेटरमा राखियो । तर महिलालाई भेन्टिलेटरमा राखिएको केही घण्टा नबित्दै भेन्टिलेटर बिग्रिएको छ ।
भेन्टिलेटर नै काम गर्न छोडेपछि सो महिलाको स्वास्थ्य बिग्रिदै गईरहेको महिलाको छोरोले बताए । उनले भेन्टिलेटरका लागि चिकित्सकहरु समक्ष हारगुहार गर्दा समेत कुनै पहल नगरिएको आरोप लगाएका छन् ।
प्रादेशिक अस्पताल जनकपुरधाममा कुल ९ वटा भेन्टिलेटर रहेको कोभिड अस्पतालको संयोजक डा. जामुुन सिंहले जानकारी दिए । जसमध्ये ५ वटा अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचारका लागि प्रयोग गर्न सकिने र बाँकी ४ वटा ट्रान्सपोर्ट भेन्टिलेटर रहेको डा. सिंहले बताए ।
३ वटा भेन्टिलेटर पहिलेदेखि नै बिग्रिएको र एउटा यस वर्ष कोभिड अस्पताल संचालनमा आएपछि बिग्रिएको उनको भनाई छ । बुधबार मात्रै बाँकी रहेको एउटा भेन्टिलेटर समेत बिग्रेको छ ।
भेन्टिलेटर ठीक गर्ने बायो मैकेनिकहरुको कन्ट्रयाक्ट समाप्त भईसकेकाले भेन्टिलेटर ठीक पार्न समस्या भईरहेको डा. सिंहले बताए । यद्यपि भेन्टिलेटर ठीक गर्नका लागि पपहल भईरहेको उनको भनाई छ ।
कोभिड अस्पतालमा धनुषा र महोतरीका ३२ जना कोरोना संक्रमितहरु भर्ना छन् ।
प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादवले पुरानो भेन्टिलेटर बिग्रिएपछि प्रदेश सरकारबाट नयाँ भेन्टिलेटर माग गरिएको जानकारी दिए । मेसु यादवले प्रदेश सरकारबाट भेन्टिलेटर प्राप्त भए लगत्तै प्रयोगमा ल्याइने बताए ।
निजी अस्पतालहरुबाट प्रदेशिक कोभिड अस्पतालमा बिरामी आउने क्रम बढेकाले अस्पतालमाथी भार थपिएको मेसु यादवको भनाई छ ।
डा. यादवको अनुसार प्रादेशिक कोभिड अस्पतालमा ६३ बेड तयारी अवस्थामा छन् । अस्पतालमा आईसीयू १२ र ४१ बेडमा अक्सिजन उपलब्ध छ ।