
जनकपुरधाम, ३१ बैशाख । कोरोना महामारी निषेधाज्ञाको बेलामा रोगबाट बच्न र बचाउनका लागि ‘घरमै बसो, सुरक्षित रहौं’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिई रहेको बेलामा करीब १५ वटा गरीब तथा विपन्न परिवारको घरमा डोजर लगाएर भत्काइएका छन ।धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ स्थित कुवामा गुठी संस्थानको जग्गामा ४० वर्षदेखि बस्दै आएका गरीब तथा विपन्न परिवारको घरमा विहिवार साँझतिर डोजर लगाएर भत्काइएको हो । पाँचवटा भ्यानमा डोजर साथ गएका प्रहरीले घर भत्काउँदा उनीहरु घरवार विहिन भएका छन् ।
ती बस्तीमा मुखिया, कुम्हार, यादव, खत्बे लगायतका समुदायहरु बस्दै आएका छन । दैनिक ज्यालादारी गरी गुजरवसर गर्दै आएको घरमा विहिवार डोजर लगाएर भत्काएपछि रातभरि सडकमै सुतेर समय काटेको पीडितहरु बताउँछन ।
गुठी संस्थान जनकपुरले सूचना बिना नै कोरोना महामारी रोगको बेलामा घर भत्काउँदा घरभित्र रहेको खाद्य समाग्री नोक्सान भएको छ भने गाई भैसीलाई पनि चोटपटक लागेको उनीहरु बताउँछन् ।यता सन्दर्भमा सोही वडाका वडा अध्यक्ष शत्रुधन यादवसँग टेलिफोन सम्पर्क गर्दा आफूलाई थाहा नभएको जवाफ फर्काएका छन । उनले भने, ‘हामीसँग सोधेर घर बनाएको थिए, घर किन भत्काइएको के कारण हो त्यस सन्दर्भमा आफूलाई थाहा छैन ।’
प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले यस सन्दर्भमा प्रशासनसँग बुझि रहेको बताएका छन् ।यता पीडितहरुले कोरोना महामारी रोग फैलिरहेको बेलामा आफ्नो ज्यूज्यानको सुरक्षाका लागि पत्रकार, मानव अधिकारकर्मी लगायत सम्बन्धित निकायसम्म पुग्न निक्कै गाह्रो भएको गुनासो पोखेका छन् ।
Discussion about this post