
ईन्द्रभुसन यादव
जनकपुरधाम, २ जेष्ठ
शिक्षा र चेतनाकाे अभावका कारण दाइजाे प्रथा चलेकाे मानिए पनि शिक्षित र सम्पन्न परिवारमै यसकाे विकृति झनै बढ्नु दु:खद् पक्ष हाे । यस्ताे विकृति सबैतिर भए पनि मधेसमा झने याे झाँगिँदै गएकाे पाइन्छ । अझ उदेकलाग्दो पक्ष त के छ भने छाेरालाई चिकित्सक अध्ययन गराएका अभिभावकले अध्ययन खर्च जाेडेर दाइजाे लिन गर्छन् । भने प्रहरीमा इन्स्पेक्टर र अधिकृतस्तरमा कुनै कर्मचारी वा जागिर गरेकाहरुले २५ देखि ३० लाख रुपैयाँसम्म दाइजाे माग्ने गरेका छन् । यसकाे अतिरिक्त गरगहना , जिन्सी , सवारी साधनलगायतका सामग्री पनि हाकाहाकी माग्ने चलन देखिन थालेकाे छ । यसरी विवाह गर्ने क्रममा महँगो रकम खर्च गर्नुपर्ने जुन प्रवृत्ति देखिएकाे छ, त्यो नेपाली समाजकाे डरलाग्दो विकृति हाे । दाइजाेकाे सवालमा एकातिर केटाकाे शैक्षिक याेग्यता, व्यवसायकाे अाधारमा खर्च गर्नुपर्ने रकम बढ्दै गएकाे पाइन्छ भने अर्कोतिर केटीले हासिल गरेकाे शिक्षाकाे खासै अर्थ नदेखिनु विडम्बनापूर्ण अवस्था हाे । दाइजोबापत कबुल गरेका केही धनमाल विवाह मण्डपमै नदिइँदा विवाह सम्पन्न नहुने मात्र हैन, विवाहपछि पनि महिलाहरुले अनेक शारीरिक र मानसिक प्रताडना खेप्न बाध्य हुनु झनै दु: खद् पक्ष हाे । त्यसाे त प्रहरी अनुसन्धानले पनि अधिकांश घरेलु हिंसाका घटनाहरु दाइजाेका कारण हुने गरेकाे देखाएकाे छ । दाइजाेका कारण घरेलु हिंसाका घटना त भएका छन् नै कतिपय महिलाले भने यसकै कारण अकालमा ज्यान गुमाउनुपरेकाे छ । दाइजाेकाे परिमाण नमिलेपछि तय भइसकेको विवाह नै नभएकाे र कतिपय अवस्थामा विवाह मण्डपबाटै विवाह भाँडिएका उदाहरण पनि धेरै छन् । र यस्तो अवस्थामा उजुरी प्रहरीसमक्ष पुग्ने गरेकाे छ । यसरी दाइजाेकाे विषयलाई लिएर प्रहरीसमक्ष पर्ने उजुरीकाे संख्या बढ्दै गएकाे छ । दाइजाे लिने र दिइने दुइटै कानुनी अपराध हाे त्यसले दाइजाे लिने व्यक्तिहरुलाई सामाजिक बहिष्कारसम्म गर्ने अभियान सञ्चालन गर्न सके याे प्रवृत्ति केही हदसम्म निरुत्साहित हुनेछ । शिक्षित वर्गले समेत दाइजाेलाई सानका रुपमा लिने जुन प्रवृत्ति देखिएकाे छ , त्यसलाई निरुत्साहित गर्नका लागि पनि यस किसिमका बहिष्कार अभियानकाे खाँचो छ ।