जनकपुुरधाम, असार १ गते ।
प्रदेश दुई सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि लागि बजेट प्रस्तुत गरेको छ ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले आर्थिक वर्ष २०७८÷०७९का लागि कुल ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालु आर्थिक वर्षभन्दा २३ करोड ४ लाख ४१ हजार बढीको बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको थियो ।
आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेट ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार बजेट मध्ये चालू तर्फ ४६.२६ प्रतिशत अर्थात १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पूजिगत तर्फ ५३.४ प्रतिशत अर्थात १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वितिय व्यवस्था तर्फ ०.३ प्रतिशत अर्थात १० करोडको बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारले बजेटको व्यवस्थापन आन्तरिक श्रोतको राजश्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारको तर्फबाट प्राप्त अनुदान १३ अर्ब ९० करोड ३४ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ५८ करोड ८९ लाख र चालु आर्थिक बर्षको नगद मौज्दात ६ अर्ब ३५ करोड रकमबाट बजेट व्यवस्थापन गरिने छ । त्यस्तै कम रह्न गएको १ अर्ब न्यून रकम आन्तरिक ऋणबाट उपर गरिने छ ।
स्थानीय तहहरुको वित्तिय हस्तान्तरणका लागि ३ अर्ब १६ करोड ५० लाख रुपैया विनियोजन गरिएको छ ।
प्रदेश सरकार आर्थिक वर्ष २०७८÷०७९का लागि ल्याएको बजेटमा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत २ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रतिकुल असरलाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको छ । यसका साथै कोरोना महामारीका कारण अर्थतन्त्र खस्केको, बेरोजगारी दर बढेकोले यसपालीको बजेटमा स्वास्थ्य, कृषि, शिक्षा, रोजगारी श्रृजना तथा पर्यटनलाई विशेष प्राथमिकता दिइएको छ । यसका साथै आगामी बजेटमा केही पुरानै कार्यक्रमहरुलाई समेत विशेष प्राथमिताका साथ समावेश गरिएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारीको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु अक्सिजन सिलिण्डर, रेमडीसिविर, औषधी लगायत खरिद गर्नका लागि २० करोड बजेट विनियोजन गरिएको छ । प्रदेशमा मृगौला रोगीहरुको चापलाई ध्यानमा राख्दै प्रत्येक जिल्लामा उपलब्ध गराउनका लागि ३५ वटा डायलसिस मेशिन खरिद गर्नका लागि १२ करोड रकम विनियोजन गरिएको हो ।
प्रदेश सरकारले जनकपुरधामको मुजेलियास्थित निर्माण गरिरहेको मणिपालल कोभिड अस्पताल तथा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठन पाठन शुरुवात गर्नका लागि भौतिक संरचना निर्माण गर्न १० करोड बजेट विनियोजन गरिएको हो । कम पर्न जाने रकम आन्तरिक ऋणबाट उपर गरिने बजेटमा उल्लेख छ ।
प्रदेश सरकारले प्रदेशको शैक्षिक स्तर उकास्नका लागि प्रत्येक जिल्लामा कम्तीमा एउटा नमूना सामुदायिक विद्यालयको विकास तथा विद्यालयहरुको भौतिक संरचना सुधार गर्नका लागि २४ करोड रुपैयाँ विनियोजन गरेको हो । विद्यार्थीहरुको शारिरिक तथा मानसिक विकास गर्ने उद्देश्यले प्रत्येक जिल्लामा खेल मैदानको निर्माणका ललागि बजेट छुट्याइएको छ । यस कार्यक्रमका लागि ८ करोड रकम विनियोजन गरिएको छ । आदिवासी, दलित, जनजाती, मधेश आन्दोलनमा शहिद भएको परिवारको छात्रवृतिका लागि २ करोड रुपैया विनियोजन गरिएको छ । एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिदै सो कार्यक्रमका लागि १ करोड ५० लाख रुपैया विनियोजन गरिएको हो ।
प्रदेशको प्रत्येक निर्र्वाचन क्षेत्रमा कम्तीमा ५ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि ६७ करोड २० लाख, महेन्द्रनारायण निधि आवास कार्यक्रम शुरुवात गर्नका लागि २० करोड, मझौला सिचाई कार्यक्रमका लागि ४१ करोड, बाढीको प्रकोप कम गर्न नदी नियन्त्रण कार्यक्रमका लागि ३० करोड, वडा देखि पालिकाको सदरमुकामसम्मको सडक निर्माणका लागि ६८ करोड रकम विनियोजन गरिएको छ ।
रामराजा सिंह, गजजेन्द्र नारायण सिंहको शालिक निर्माणका लागि ४ करोड, शहीद दुर्गानन्द झाको शालिक निर्माणका लागि २ करोड रकम विनियोजन गरिएको हो ।
त्यस्तै प्रदेश सरकारको महत्वाकांक्षी योजना बेटी पढाउ बेटी बचाउ कार्यक्रमका लागि २० करोड रकम विनियोजन गरिएको हो ।