जनकपुरधाम, असार १३ गते ।
महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर–७ भ्रमरपुरामा धान खेतमा पुरिएको अवस्थामा एक महिलाको शव भेटिएको छ ।
सोही ठाउँ बस्ने पतिराम ठाकुरको धान खेतमा महिलाको शव फेला परेको हो । सो शव गत जेठ १९ गतेदेखि आफ्नै घरबाट बेपत्ता भएकी सुजिता ठाकुरको रहेको स्थानीयको आशंका छ । तर, प्रहरीले भने शव सुजिताकै भए÷नभएको बारे पुष्टि हुन बाँकी रहेको बताएको छ ।
सुजिताको माइती पक्षले छोरीको हत्या गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दिएको निवेदनका आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा खेतमा आइतबार एउटा शव फेला पारेको हो । खेतमा चार फिट गहिरो खाडल खन्दा कपाल र शरीरका अन्य भागहरू भेटिएको थियो ।
आफ्नो छोरीको हत्या उसको ससुराली पक्षले गरेको मृतकका पिता कामेश्वर पाण्डेको आरोप छ । छोरीको हत्यामा ससुरा पक्षका व्यक्तिहरू संलग्न भएको पाण्डेयको आरोप छ । उनले सुजिताको हत्या उनका ससुरा पत्तिराम ठाकुर, देवर रुपेश ठाकुर र देवरानी रोमी ठाकुरले गरेको दावी गरेका छन् । उनले आफ्नो छोरीको ससुराली पक्षले घरायसी विवाद हुँदा पटक पटक ज्यान मार्ने प्रयास गर्दै आएको र यसअघि पनि छोरीको ज्यान मार्ने थुप्रै प्रयासहरु भएको बताए ।
उनले भने,‘डेढ वर्ष अघि नै मुद्दा मामिलाको क्रममा प्रशासनको रोहबरमा दुबैपक्षबिच आइन्दा सुजितालाई कुनै प्रकारको यातना नदिने सहमति भएको थियो । तर, यसपटक भने उसको हत्या नै गरियो ।’ उनले प्रहरीले अभियुक्तलाई संरक्षण दिँदै आइरहेको आरोप समेत लगाए ।
यता, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले आफूहरूले घटनाको गम्भिर रुपमा अनुसन्धान गरिरहेको बताएका छन् ।
सुजिताका ससुरा ५० वर्षीय पतिराम ठाकुर, देवर २६ वर्षीय रूपेश ठाकुर र देवरानी २५ वर्षीया रोमी ठाकुरविरुद्ध किटानी जाहेरी दिन खोजेकोमा प्रहरीले अस्वीकार गरेको पीडित परिवारले जनाएको छ । त्यसपछि खोजतलासका लागि पीडित परिवारले निवेदन दिएका थिए ।
महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भम्रपुरा निवासी पत्तिराम ठाकुरका छोरा मुकेश ठाकुरसँग पिपरा गाउँपालिका वडा नम्बर–६ बस्ने कामेश्वर पाण्डेयकी छोरी सुजिता ठाकुरको ११ बर्षअघि सामाजिक परम्परा अनुसार बिबाह भएको थियो ।