जनकपुरधाम, असार १३ गते ।
धनुषाको यदूकुहामा एक १५ वर्षीय किशोरमाथि प्रहरीले निर्घात कुटपिट गरेका छन् । धनुषाको शहिदनगर नगरपालिका यदूकुहास्थित ईलाका प्रहरी कार्यालयमा चोरीको आरोपमा ती किशोरलाई कुटिएका हुन् ।
शहिदनगर नगरपालिका ४ ननुपट्टीका १५ वर्षीय बालक रविशंकर कुमार पण्डितलाई चोरीको आरोपमा कुटपिट गरी घाइते बनाएको पीडित परिवारको आरोप छ ।
प्रहरीको कुटाईबाट घाइते किशोर बेहोस् भएपछि शनिबार साँझ ७ बजे मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराइएको किशोरका काका बिन्देश्वर पण्डितले जानकारी दिए ।
किशोरका काका बिन्देश्वरले भने, ‘जसको घरमा चोरी भएको छ, उसको घर मेरो भतिजो सधैँ दूध पु¥याउन जान्थ्यो, शनिबार पनि गएको थियो, सधैझैं दूध पु¥याएर आयो, तर पछि १२ बजे प्रहरी चौकीमा लागेर सोधपुछ गर्नुको साटो पाईपले पिटियो ।’
चोरी भएको मनिष गुप्ताको घरमा आफु दूध पु¥याउन सधैँजसो गएपनि चोरी नगरेको भएपनि प्रहरीले सोधेर चोरी नगरेको भनेपछि पाईपले आफूलाई कुटेको किशोरको भनाइ छ । किशोरको दुवै पैताला, हातको औला, खुट्टाको औला सुन्निएको र खुट्टाको तिघ्रामा पाईपको निलडाम बसेको छ ।
यता किशोरका पिता शत्रुधन पण्डितले घरमा कोही नभएको बेला बोलाएर प्रहरी चौकीमा लगेर पिट्नु आफुहरुमाथि अन्याय भएको बताए । उनले भने, ‘सोधपुछ गर्नुथ्यो ग¥यो तर मेरो छोरालाई बेहोस् हुने गरी नदेखिने ठाउँमा पाईपले पिटेको छ ।’
गत शुक्रबार राति शहिदनगर ३ यदुकूहास्थित मनिष गुप्ताको घरमा चोरी भएको थियो । ईलाका प्रहरी कार्यालयको झण्डै सय मिटर दुरीमा रहेको स्थानमा चोरी भएको प्रहरी निरीक्षक संवित भण्डारीले जानकारी दिए ।
चोरी भएको घरको सीसीटिभी फुटेजको आधारमा सोधपुछ गरिएपनि किशोरमाथि कसैले कुटपिट नगरेको उनले बताए ।
प्रहरी कार्यालयबाट अभिभावकले बुझेर लादा कुटपिट भएको थिएन तर घर लैजादा लैजादै कसरी कुटपिट भयो भन्नेमा आफुलाई थाहा नरहेको उनको भनाइ छ ।