जनकपुरधाम,असार १९ गते
सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले सडकमा आएका छन् । शनिबार जनकपुरधामका बैंकिङ क्षेत्रका कर्मचारीहरुले कालो ब्यानर सहित प्रदर्शन नगरमा प्रदर्शन गरेको हो । जनकपुर क्षेत्रका बैंकहरुले जनकपुरधाममा भेला भइ संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।
खाईपाई आएको सेवा सुविधासमेत खोसिने गरी कोषमा आवद्ध गराउन लागिएको भन्दै वित्तीय क्षेत्रका कर्मचारीहरु असन्तुष्ट रहेको भन्दै आज जनकपुरमा प्ले कार्ड बोकि नारा सहित प्रदर्शन गरेका छन् ।
कोषले असार मसान्तभित्र आवद्ध हुन सार्वजनिक सूचना निकालेपछि कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन् । बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा कार्यरत कर्मचारीहरूले सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने अडान राखेका छन् ।कोषले बैंक तथा वित्तीय संस्थालाई दर्ता हुन आग्रह गरिरहेका बेला कर्मचारीले भने खाइपाई आएको सुविधा नघट्ने सुनिश्चित नभएसम्म कोषमा नजाने बताउँदै आएका छन् । अहिलेका व्यवस्थाहरु संशोधन नभएसम्म कोषमा आवद्ध हुन नसकिने भन्दै विरोध प्रदर्शन गर्नु परेको मुक्तिनाथ बिकास बैंकका प्रदेश प्रमुख प्रभास झाले बताए ।
आईएलओ अभिसन्धि १९४९ (नं.९८), नागरिकको मौलिक हक, श्रम ऐनको मर्म विपरित बैक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको ‘राइट टू अर्गनाइजेसन एण्ड राइट टू कलेक्टीभ बार्गेनिङ’ गर्न पाउने हक कुण्ठित हुनेगरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएकोले तथा खाइपाई आएको सेवा सुविधा घट्ने र तिन दशक लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने भएकोले आन्दोलनमा उत्रिनु परेको उनको भनाइ छ ।
आन्दोलनमा जनकपुरका सम्पूर्ण बैंक तथा बित्तीय संस्थाका १०० बढि कर्मचारीहरुको उपस्थिती रहेको थियो ।स्थानीय मिल्स एरियाचोकबाट सुरु गरिएको विरोध ¥याली भानुचोक, शिवचोक, जनकचोक हुँदै जानकी मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा जनकपुरधामस्थित सिद्धार्थ बैंक लिमिटेडका शाखा प्रमुख सतिश लाल कर्ण, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक, मुक्तिनाथ विकास बैंक, बैंक अफ काठमाण्डु, सेन्चुरी बैंक, सिटिजन्स बैंक, एनसिसि बैंकलगायतका बैंकका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।