जनकपुरधाम, साउन २७ गते ।
कला र संस्कृतिको पर्व विधिवत रुपमा मधुश्रावणी मंगलबार सम्पन्न भएको छ । साउन महिनाको कृष्णपक्षको पञ्चमी तिथिबाट प्रारम्भ हुने यो पर्व शुक्लपक्षको तृतीया तिथिका दिन सम्पन्न हुने गर्दछ । नवविवाहिता महिलाहरुले पूजा गरेर यो पर्वको समापन गरेका हुन् ।
मिथिलामा माता गौरीलाई अटल सौभाग्य प्रदान गर्ने देवीको रुपमा पूजा गर्ने चलन रहेको छ । मधुश्रावणी पर्वका लागि व्रतार्थी (नवविवाहिता महिला) श्रावण कृष्ण चतुर्थीको दिन नुहाई धुवाई गरी चोखो हुने गर्छन् ।
सोही दिन दिउसोमा नवविवाहिता महिलाहरुका साथै टोल छिमेकका अन्य महिलाहरु मिथिलाका विभिन्न लोक गीतहरु गाउँदै, हँसी ठट्टा गर्दै फूल टिप्न जाने गर्दछन्, जसलाई मिथिलामा फूललोढ़ी भन्ने गरिन्छ । टिपिएका फूल तथा बेलपत्रहरु भोली पल्ट माता गौरी र महादेवलाई चढाउने गरिन्छ । यस पर्वमा माता गौरी र महादेवलाई बासी फूल र बेलपत्र चढाउने परम्परा रहेको पाईएको छ ।
त्यसपछि साँझमा माता गौरीका लागि नैवेद्य तयार गरिन्छ, त्यस समय बेसारलाई माता गौरीको प्रतिक प्रतिमास्वरुप बनाएर पानको पातमा राख्ने गरिन्छ जसलाई मैथिली भाषामा गौर भन्ने चलन छ ।
यसका लागि छरछिमेकका महिलाहरुलाई निम्तो समेत दिईन्छ र महिलाहरुले मधुश्रावणीमा हुने विभिन्न विधि विधानहरुको महत्व र विशेषता झल्किने खालका लोक गीतहरु गाउने गर्दछिन् । यस पर्वमा मिथिलाको लोक गीतहरु गोसाउनि गीत, गौरीगीत, शिवनचारी, महेशवाणी, कोहबरगीत आदि गाईने गरिन्छ । मधश्रुावणीमा गौरी र महादेवको पूजा गर्ने भएकाले शिव–पार्वतीको पारिवारिक परिवेश सम्बन्धी आख्यानहरुको चर्चा गर्ने गरिन्छ । जसले गर्दा मनोरञ्जनात्मक परिवेशको निर्माण समेत हुने गर्दछ पूजाको समयमा ।
गौरी नैवेद्य र गौरीको प्रतिमा नवविवाहिता महिलाको माईती र ससुराली दुबै ठाउँ बनाईने गरिन्छ । यो पर्व खास गरि माईतीमै मनाईने भएकाले ससुरालीमा बनाईएको गौरीको प्रतिक र गौरीको नैवेद्य पूजाको दिन पूजास्थानमा राखिने गरिन्छ । यस अवसरमा नवविवाहिताको ससुरालीबाटै साड़ी,श्रगृंारका सम्पूर्ण सामग्रीका साथै पर्व अवधिका लागि अन्न समेत पठाउने चलन रहेको मधुश्रावणीको कथा वाचन गर्ने सच्ची देवीले बताईन् ।
उनका अनुसार श्रावण कृष्ण पञ्चमीका दिन व्रताथीहरु स्नान गरी नववस्त्र धारण गरेपछि कुलदेवतालाई प्रणाम गर्दै पूजा हुने स्थानमा विशेष प्रकारको अरिपन बनाईएको स्थानमा बस्ने गर्छिन् । त्यसपछि त्यहाँ पाँच वटा नागदेवताको आकृति बनाईने गरिन्छ । विशेष प्रकारको अरिपनमाथि पूजा सामाग्री समेत राख्ने गरिन्छ । यसमा कलशका साथै एक सय आठ स्थानमा नाग देवताको आकृित बनाईएको हुन्छ । त्यसपछि माता गौरीको पूजा गर्दै मधुश्रावणी पूजा आरम्भ गरिन्छ ।सवर्पथ्रम हाथीमाथि माता गौर ( बेसारबाट बनाईएको माता गौरीको प्रतिक) पूजन गर्ने गरिन्छ । यसका साथै पञ्चोपचार पद्धतिबाट गन्धपुष्प धुपदीप ताम्बुल, दूवार्दल, बेलपत्र, नैवेद्य इत्यादिद्वारा विशेष विधिविधानसहित स्वामीपुत्रसहित माता गौरीको पूजा गरिन्छ । पूजा गरेपछि प्रत्येक दिन निर्धारित कथा सुनाईने गरिन्छ । कथापश्चात बाचोबीनी नामक मन्त्रविशेष समेत एकपटक सुनाईने गरिन्छ । पूजा समाप्त भएपछि व्रतार्थी कुलदवेतालाई प्रणाम गर्दै आफुभन्दा श्रष्ेठबाट समेत आर्शिवाद लिने गर्छन् । त्यसपछि पूजास्थानमा राखिएको खीरको भागलाई पूजा गर्दै पाँच जना सधवा महिलाहरुलाई खुवाईने गरिन्छ । यस विधिलाई मैथिलीमा करोतरि भन्ने गरिन्छ । यस पर्वमा १५ दिनसम्म पूजनकालमा ससुरालीबाट आएको वस्त्र (साडी) मात्रै लगाईने गरिन्छ कथावाचिका सच्ची देवी बताउँछिन् ।
यसरी १३ दिनसम्म गरिएको पूजामा एकत्रित गरिएको फूल अर्थात निर्माललाई अन्त्यमा विसर्जन गरिने प्रावधान रहेको छ । साउन शुक्लपक्षको तृतीया तिथिका दिन मधश्रुावणी पर्व समापन गरिन्छ । तृतियाभन्दा एक दिन पूर्व व्रतालु बेहुली (चोखो हुनु)नहाएखाए गरेपछि सोही दिन साँझ फेरी गौरी नैवेद्य पकाउँछिन् । सोही दिन नवविवाहिताहरु टेमी विधिमा शामिल हुन्छिन् । टेमी विधिमा दियोको टुप्पीले नवविवाहितालाई गोडामा पोलिन्छ । बेहुलीको देब्रे गोडामा टुप्पीले स्पर्ष गराइन्छ । स्पर्ष गराइएको स्थानमा चन्दनको लेप लगाइन्छ ।
यसमा पोलिएको ४ स्थानमध्ये एक वा तीन स्थानमा घाउ आए श्रीमान्ले भविष्यमा अझै बढी माया गर्ने भन्ने विश्वास रहेको छ । तर नवविवाहिता महिला गर्भवती रहेको पाईए उनीहरुलाई शीतल टेमी दिईन्छ ।
मधुश्रावणी पर्व मिथिला क्षेत्रको विशिष्ट पर्व रहेपनि ब्राह्मण, कायस्थ, भूमिहार र सोनार जातिले मात्रै मनाउने गर्छन् । पर्वमा जाती, स्थान अनुसार विधिमा विविधता समेत पाइन्छ । जस्तै ब्राह्मण परिवारमा पूजा अवधीभभरी ससुरालीबाट आएको अन्न मात्रै खाने प्रचलन छ । तर अन्य जातीमा भने सो प्रावधान पाइदैन ।