जनकपुरधाम, श्रावण २८ गते
प्रत्येक वर्ष झै यस वर्षपनि हर्षाेउल्लासका साथ नाग पञ्चमी मनाउँदै छ । गत वर्ष झै यस वर्षपनि नागवंशी चोरसिया समाज नेपालले जनकपुरधाम उप–महानगरपालिका वडा न. ७ स्थित तपसी चौक नाग पुजाको आयोजना गरेको हो । शुक्रवार नागवंशी चोरसिया समाजको नेपालको आयोजनामा भोलि विहान नगरमा शोभा यात्रा समेत निकालिने जनाएको छ । भोलि बरै कुट्टीमा आयोजना हुने पुजामा साँझ प्रसाद ग्रहण र अतिथिहरुलाई स्वागत तथा सम्मान गरिने कार्यक्रम समेत रहेको महासचिब रितेश भगतले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व भोलि परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गर्ने गर्छन् ।यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।नागका अष्टकुल– अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको चित्रमा दूध, दही, अक्षता, फूल, दूबोले पूजा गरी दूध र लावाको नैवेद्य चढाई घरको मूल ढोकामाथि टाँस्ने चलन छ ।नागको पूजाले धनधान्य र सुख समृद्धि प्राप्त हुने, दैविक, भौतिक र प्राकृतिक आपत्ति र अनिष्ट नाश हुने र कालसर्पजस्ता योग पनि नष्ट हुने विश्वास गरिन्छ ।नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ ।नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।देशभरका नागदह, कुण्ड, र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ ।वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ ।