जनकपुरधाम, साउन २८ गते ।
धनुषाको हँसपुर नगरपालिकाका जनप्रतिनिधिहरु बिरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पूर्जी जारी गरेको छ । हँसपुरका नगर प्रमुख रामज्ञान मण्डल, उपप्रमुख रेणु झा र वडा अध्यक्षहरुको नाममा धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।
कार्यालय सार्ने विषयमा नगर प्रमुख मण्डल र उपप्रमुख झा बिचको विवाद उग्र भएपछि भएको आन्दोलनको क्रममा प्रहरीको कुटाईबाट घाइते भएका स्थानीय तपेश्वर मण्डलको उपचारको क्रममा मृत्यु भएको विषयलाई लिएर उनीहरु विरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । हँसपुर नगरपालिकाको कार्यालय नसार्ने पक्षमा नगर उपप्रमुख रेणु झा थिईन् । उनकै समर्थक रहेका तपेश्वर मण्डलको मृत्यू भएपछि तपेश्वरका छोरा राजकुमार मण्डलले नगरप्रमुख रामज्ञान मण्डल, उदय सिंह, श्याम राउत सहितकामाथि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए ।
ती जनप्रतिनिधिहरु बिरुद्ध पक्राउ पूर्जी जारी गर्नुभन्दा अगाडी हँसपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउतलाई पक्राउ गरि प्रहरीले सोधपुछ गरेको थियो । राउतलाई पक्राउ गर्न समेत धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई प्रहरीले २ साता अगाडी नै नियन्त्रणमा लिएको थियो ।
मृतकका छोरा राजकुमारको उजुरीको आधारमा धनुषा प्रहरीले करिब दुई वर्षपछि हँसपुर नगरपालिकाको कार्यपालिका सदस्य श्याम राउतलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
यता दुवै पक्षले एक अर्का विरुद्ध उजुरी दिएको लामो समय पछि धनुषा प्रहरीले कानूनी प्रक्रिया अघि बढाएको हो ।
तपेश्वर मण्डलको मृत्यू प्रकरणका मुख्य आरोपी नगरप्रमुख रामज्ञान मण्डल, नगर उपप्रमुख रेणु झा र हँसपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उदय सिंह, वडाध्यक्ष किशोरी यादव र नगर कार्यपालिका सदस्य राउतमाथि पीडित पक्षले दिएको जाहेरी दिएको अनुसार धनुषा प्रहरीले कारवाही प्रकया शुरु गरेको छ ।
२०७६ साउन २१मा हँसपुर नगरपालिकाको कार्यालय सार्ने र नसार्ने विषयमा भएको आन्दोलनको क्रममा झडपमा घाइते भएका तपेश्वर मण्डलको प्रदेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा २०७६ भदौ १८ गते मृत्यु भएको थियो ।
पक्राउ पूर्जी जारी भएलगत्तै हँसपुर नगरपालिकाका जनप्रतिनिधिहरु फरार भएका छन् । फरार आरोपीहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।