जनकपुरधाम, भदौ १२ गते ।
विभिन्न अभियानको नारा सहित प्रचार प्रसारका लागि जानकी मन्दिरमा झुण्डयाइएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको होर्डिंग बोर्ड स्थानीय युवाहरुले च्यातेर हटाएका छन ।
शनिवार मन्दिर परिसरमा मुख्यमन्त्री स्वच्छता अभियान र बेटी बचाउ बेटी पढाउ अभियानको मुख्यमन्त्री राउतको फोटो सहितको झुण्डयाइएको होर्डिंग बोर्ड युवाहरुले भ्रष्टाचारीहरुको होर्डिंगले मन्दिर फोहर गर्न पाइदैन भनी च्यातेर हटाएका छन ।
स्थानीय युवा सरोज मिश्रको अगुवाईमा युवाहरुले शनिवार मुख्यमन्त्री राउतको फोटो सहितको होर्डिंग बोर्ड संगै सौर्य सिमेन्ट लगायतका व्यवसायिक होर्डिंग बोर्ड समेत च्यातेर हटाएका छन ।
स्वच्छता अभियान र बेटी बचाउ बेटी पढाउको नाममा नाममा मुख्यमन्त्री लालबाबु राउतले करोडौं रुपैया भ्रष्टाचार गरेको र जानकी मन्दिरमा पोस्टर लगाएर मन्दिरलाई कुरुप बनाउन खोजेको ती बोर्डहरु हटाइएको अभियन्ता मिश्रले बताए ।
स्वच्छता अभियान र बेटी पढाउ अभियान चलाएर मुख्यमन्त्री राउतले आफन्त र पार्टी कार्यकर्ताहरुको भर्ती केन्द्र बनाएको तथा अनियमितताको अखाडा बनाएकोले यस्ता भ्रष्टाचारसँग आबद्ध अभियानको पोष्टर मन्दिरमा लगाउनु उचित नरहेकोले आफूहरुले सो पोष्टर च्यातेर फालेको मिश्रले भने ।
उनले उपरान्त जानकी मन्दिर लगायतको कुनैपनि धार्मिक पर्यटकिय स्थलको परिसर वा पर्खालमा धार्मिक प्रचार बाहेक अन्य कुनैपनि किसिमको व्यवसायिक वा गैर व्यवसायिक प्रचार प्रसार होर्डिंग बोर्ड लगाएर गर्न पाउने छैन । यदि गरेको देखियो भने यस्तै अवस्था हुने चेतावनी समेत उनले दिए ।