जनकपुरधाम, भदौ १६ गते ।
जसपाबाट अलग भएर दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टीका लागि प्रदेश २का प्रदेशसभा सदस्यहरुले आज सनाखत गराएका छन् ।
बुधबार जनता समाजवादी पार्टी (जसपा) छोडेर नयाँ पार्टीमा प्रवेश गरेका प्रदेश २का प्रदेशसभा सदस्यहरुले निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गराएका हुन् । निर्वाचन आयोगले नयाँ दलमा जान चाह्ने जनप्रतिनिधिहरुलाई भदौ १ गतेदेखि भदौ २२ गतेसम्मको समय दिएको छ ।
लोसपाको पक्षमा जसपा छोडेर १० जना प्रदेशसभा सदस्यहरुले आज सनाखत गराएका हुन् । बाँकी रहेका प्रदेशसभा सदस्यहरुले बिहिबार सनाखत गराउने लोसपाका नेता जितेन्द्र सोनलले जानकारी दिए ।
लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरीनरायाण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेका छन् ।
जितेन्द्र सोनल, अभिराम शर्मा लगायतका प्रदेशसभा सदस्यहरुले बिहिबार सनाखत गराउने जनाइएको छ ।
प्रदेश २को प्रदेशसभामा तत्कालिन समाजवादी पार्टीबाट ३० र तत्कालिन राजपाको तर्फबाट २५ गरी जसपाको कुल ५५ प्रदेशसभा सदस्यहरु रहेको थियो ।
यता नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनलले लोकतान्त्रिक समाजवादी पार्टी देशको वैकल्पिक लोकतान्त्रिक शक्तिको रहेको दावी गरेका छन् ।
बुधबार जनकपुरधाम स्थित प्रदेश निर्वाचन कार्यालयमा सनाखत गर्न पुगेका पूर्वमन्त्री समेत रहेका नेता सोनलले शोषित, पीडित र उपेक्षित जनताको प्रतिनिधित्व गर्नका लागि लोसपाको स्थापना भएको बताए ।
जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर वैधानिक रुपले गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा दल चयन गर्न निर्धारण गरिएको मिति अनुरुप तराई मधेशमा व्यापक लहरको रुपमा स्थानीय स्तरमा हस्ताक्षर अभियानको कार्य तिव्ररुपमा अघि बढिरहेको उनले बताए ।
उनले भने– ‘धेरै सांसदहरु हाम्रो सम्पर्कमा आईसक्नु भएको छ र आजदेखि प्रारम्भ भएको सनाखत प्रक्रिया २२ गतेसम्म चल्ने भएकोले हामीलाई पूरा विश्वास छ । उनले अघि थप्दैँ भने– प्रदेश नम्बर २ को मूल पार्टी लोकतान्त्रिक समाजवादी पार्टी बन्ने छ ।’
उनले भने– कति संख्यासम्ममा प्रदेश सांसदहरु हाम्रो पार्टीलाई रोज्छन् त्यो २२ गतेसम्म पर्खौं, अधिकतम संख्या लोसपामा नै हुन्छ । यकिन गरौं हाम्रो संख्या पक्का बढ्ने छ ।’
तराई मधेशमा दुई वटा धार देखिएको भन्दै उनले शोषित, पीडित र उपेक्षित जनताको प्रतिनिधित्व लोकतान्त्रिक मूल्य मान्यताबाट लोकतान्त्रिक शक्तिले नै गर्ने विश्वास व्यक्त गरे । उनले कम्युनिष्ट पक्षधरहरु जालझेल, बेमाइनी र आफै भित्र लड्ने लगायतका कामले जनता प्रतिको उत्तरदायित्व नै नबुझेको उनको जिकिर छ ।
उनले कम्यूनिष्ट पाटीको ओझेलका वीच लोसपा नै देशमा वैकल्पिक लोकतान्त्रिक राजनीतिक शक्तिको रुपमा स्थापित हुने नेता सोनलको दावी छ ।
उनले भने– जब जब लोकतन्त्र बलियो हुन्छ, अनिमात्र निमुख्खाहरुको आवाज बुलन्द हुन्छ ।
त्यसैले तराई मधेशमा लोकतान्त्रिक मूल्य मान्यताका साथ आफ्ना आवाज, मुद्दा र मागहरुलाई अगाडि बढाउनका लागि एउटा परिपक्व राजनीतिक व्यक्तित्व महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी नै मूल पार्टी हो ।’
यता प्रदेश निर्वाचन कार्यालयमा आज ११ जना भनिएपनि १० जना प्रदेशसभा सदस्यहरुले सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय जनकपुरका निर्वाचन प्रमुख पुष्पा झाले जानकारी दिइन् । आज गर्न नसकेका प्रदेश सभा सदस्यहरुले बिहिबार सनाखत गर्ने नेता जितेन्द्र सोनलले जानकारी दिए ।
सनाखत गर्ने प्रदेशसभा सदस्यहरुमा परमेश्वर साह, जयनुल राइन, गौरी नरायण साह, सुरिता साह, निलम भूमिहारिन, रमेश कुर्मी, बाबुलाल साह, अल्का झा, बबिता चौधरी र जानकी शरण साह रहेको लोसपाले जनाएका छन् ।
निर्वाचन कार्यालयमा उपस्थित भएरपनि सनाखत नगर्ने प्रदेशसभा सदस्यहरु जितेन्द्र सोनल, उपेन्द्र महतो, अभिराम शर्मा र अन्य प्रदेशसभा सदस्यहरुलले समेत भोली र पर्सिसम्ममा सनाखत गरिने लोसपाका केन्द्रिय कार्यकारिणी सदस्य समेत रहेका पूर्वमन्त्री जितेन्द्र सोनलले बताए ।
स्रोतका अनुसार जसपा तर्फ रहेकी प्रदेशसभा सदस्य रानीकुमारी शर्मा तिवारीलाई लोसपामा तान्नका लागि छलफल भईरहेकोले लोसपामा प्रदेशसभा सदस्यहरुको संख्या बढोत्तरी हुन सक्ने अनुमान छ ।
लोसपा नेपालमा अहिलेसम्म जसपा नेपालका १४ प्रदेशसभा सदस्य खुलेका छन् ।
तर स्रोतका अनुसार थप ४ जनालाई प्रदेशसभा सदस्यहरुलाई आफ्नो पक्षमा तान्नका लागि व्यापकरुपमा छलफललाई तिव्रता दिइएको बताइएको छ ।
सो छलफलका लागि लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताद्वय सरतसिंह भण्डारी र राजेन्द्र महतो समेत जनकपुरधाममा छन् । असन्तुष्ट प्रदेशसभा सदस्यहरुलाई ल्याउनका लागि एक चरणको छलफल भएको स्रोतको भनाई छ । छलफल हुने क्रम अझै पनि जारी नै रहेको जनाइएको छ ।