जनकपुरधाम, भदों १९ गते
उपेन्द्र महतोले नेतृत्व गरेको पार्टी जनता समाजवादी पार्टीलाई सर्लाहीमा ठुलो धक्का लागेको छ । जसपा छाडेर सर्लाहीका निर्वाचित प्रमुखहरु नव गठित लोकतान्त्रिक समाजवादी पार्टीमा धमाधम आउन थालेका छन् । सर्लाहीका ७ जना निर्वाचित पालिका प्रमुखहरुले मध्ये ५ जना लोसपा रोजेका हुन ।
महन्थ ठाकुरको तत्कालिन पार्टी राजपा र उपेन्द्रको तत्कालिन फोरम नेपालबाट स्थानीय निर्वाचनमा सर्लाहीबाट ७ जना पालिका प्रमुखहरु निर्वाचित भएका थिए ।
वर्तमान अवस्थामा महन्थ ठाकुर र उपेन्द्र वीच विवाद सुरु भएपछि पार्टी विभाजन पश्चात ठाकुर पक्षमा ५ जना पालिका प्रमुखहरुले समर्थन जनाएको हो । ५ जना पालिका प्रमुखहरुले मलंगवा स्थित जिल्ला निर्वाचन कार्यालयमा पुगेर ठाकुरले रोजेका लोसपामा सनाखत गरेका हुन । जनता समाजवादी(जसपा) नेपालबाट छुटिएर महन्थ ठाकुरको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा ८५ प्रतिशत पालिका प्रमुखहरुले समर्थन संगै सनाखत गरेका छन् ।
पार्टी विभाजन अध्यादेश अनुसार राजनीतिक दललाई भदौ २२ गतेसम्म निर्वाचन कार्यालयले दिएको पार्टी रोज्ने समयको सदुपयोग गर्दै कौडेना गाउँपालिकाक प्रमुख राम प्रसाद यादव, चन्द्रनगर गाउँपालिकाका प्रमुख महेन्द्र महतो, गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादव र बलरा नगरपालिकाका प्रमुख अभय सिंहले सनाखत गरेको हो ।
ब्रह्मपुरी गाउँपालिकाका प्रमुख विनोद साहले बुधबार नै आफ्नो पालिका अन्तर्गतका वडाबाट निर्वाचित २९ जना जनप्रतिनिधिहरु सहित सनाखत गराइसकेको कार्यालयले जनाएको छ । पालिका प्रमुखहरुले मधेशको हक अधिकारको सवालमा लोसपा अडिग रहेको भन्दै लोसपा पार्टी रोजेका हुन ।
सर्लाहीमा अब २ जना पालिका प्रमुखहरु मात्र उपेन्द्र यादवको जनता समाजवादी पार्टीमा बचेका छन् । यो संगै सर्लाहीमा महन्थ ठाकुरको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ठुलो दलको रुपमा उदयमान भएको जानकारहरुको भनाई छ ।
निर्वाचन आयोगले निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गते अपराह्न ५ बजेसम्मको समय दिएको छ । सरकारले हालै ल्याएको अध्यादेश अनुसार सङ्घीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने व्यवस्था गरेपछि जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ता भएका छन् ।