जनकपुरधाम, भदौ २२ ।
जनकपुरधाम उप–महानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले शहिद गेटको नाममा अनिमितता गरेको पाएको छ। नगर प्रमुख साहले शहिद गेटको नाममा अनिमितता गरेको पाएपछि चौतर्फी आलोचना सुरु हुन थालेको हो । नगर प्रमुख साह बारम्बार आलोचनाको सिकार बन्दै आएको छ । यस्ता निर्माण कार्यहरु खाँस गरी नगर प्रमुख साहले आफ्ना आफन्तलाई मात्र दिने गरेका छन् ।
मधेश आन्दोलनपछि देशमा स्थानीय तहको चुनाव हुँदा मधेशवादी दलले कयौँ स्थानीय तहमा नेतृत्व पाउन सफल भयो । मधेशको केन्द्र जनकपुरधाममा समेत तत्कालिन राजपाबाट लालकिशोर साह नगरप्रमुखमा निर्वाचित भएका थिए । निर्वाचित भए लगत्तै जनकपुरधामका नगर प्रमुख साहले मधेश आन्दोलनका शहीदहरुको सम्मानमा नगरको प्रवेशद्वारमा शहीद गेट निर्माण गर्ने बताएका थिए ।
मधेश आन्दोलनकै बलमा जनताको विश्वास कमाउन सफल भएका साहले मधेश आन्दोलनकै शहीदहरुको नाममा निर्माण भईरहेको शहीद गेटको नाममा अनियमितता गरेको पाइएको छ ।
महालेखा परिक्षकको प्रतिवेदन अनुसार जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरिरहेको शहीद गेटको टेण्डर प्रकृयामै अनियमितता गरेको पाइएको छ । शहीद गेट निर्माणका लागि २०७६ साल माघ १० गते पहिलो पटक ३० दिने सूचना सहित टेण्डर आह्वान गरिएको थियो । जसमा रविन्द्र कन्स्ट्रक्सन प्रा.लि.को प्रस्ताव मात्रै परेको थियो । यद्यपि अनुभव सम्बन्धि कागजात नक्कली सावित भएपछि ठेक्का अस्वीकृत गरिएको थियो । त्यसपछि २०७६ फागुन १८ गते १५ दिने सूचना फेरी आह्वान गरियो जसमा गौरी पार्वती साप जे. भि. को प्रस्ताव परेको थियो । ४ करोड २८ लाख ७० हजार ४ सय ६२ रुपैयाँ अनुमानित लागत गरिएकोमा १.०५ प्रतिशत घटीमा मात्रै अर्थात ४ करोड ८ लाख ८ हजार ५३ रुपैयाँमा प्रस्ताव स्वीकृत गरिएकोले बिना प्रतिस्पर्धा प्रस्तावकर्तालाई ठेक्का उपलब्ध गराइएको पाइएको महालेखा परिक्षकको प्रतिवेदनमा भनिएको छ ।
२०७७ साल असार २० गते शिलान्यास गरिएको सो शहीद गेट निर्माणमा आर्थिक वर्ष २०७६÷०७७मा ४४ लाख ७७ हजार ७ सय २ र आर्थिक वर्ष २०७७÷०७८मा २ करोड बजेट छुट्याइएकोमा १ करोड ३२ लाख ३२ हजार ४ सय २ रुपैयाँ गत जेठ महिनासम्ममा खर्च भई सकेको छ ।
धनुष आकारमा निर्माण हुन लागेको सो शहीद गेटमा सीतारामको प्रतिमाका साथै मधेश आन्दोलनका शहीदहरुको प्रतिमा स्थापना गरिने लक्ष्य लिइएको छ