जनकपुरधान, भादौं २४ गते
देशकै कान्छो मेयर उदय बरवरियाको कर्तुत बाहिरिएको छ ।
धेरै कम समयमा नाम कमाएका धनुषाको शहिद नगरपालिकाका मेयर उदय बरबरियाको कर्तुत बाहिरिएको हो । विकासका नाममा ठुला–ठुला भाषण गर्ने मेयर बरबरिया र तत्कालिन लेखापाल नन्दलाल झाको कर्तुत बाहिरिएका छन् ।
दुबई भ्रमणका क्रममा उँटमा सवारी गर्दै उदय बरबरिया
भ्रमण खर्च नियमावाली, २०६४ को नियम घ(५) अनुसार अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि पदाधिकारी वा कर्मचारी विदेश भ्रमण गर्नु पर्दा नेपाल सरकार मन्त्री परिषद्ले निर्णय गर्नुपर्ने व्यवस्था छ । तर कानुन विपरित नगरप्रमुख बरबरियाले नगरपालिकाकै खर्चमा दुबई भ्रमण गरेको पाइएको छ। उनले पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गर्नुको उद्देश्य समेत नखुलाई भ्रमण आदेश स्वीकृत गराएर चार लाख ७ हजार ७२० रुपैयाँ भ्रमणको नाममा खर्च गरेका छन्।नगरप्रमुख बरबरिया र प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झा २०७६ मंसिर ११ गतेदेखि २० गतेसम्म दुबईको सारजाँहा भ्रमणका लागि पुगेका थिए । सो भ्रमणमा नगरप्रमुख बरबरियाले दुई लाख १५ हजार ५ सय ८० र प्रशासकिय अधिकृत नन्दकुमार झाले १ लाख ९२ हजार १ सय ४० रुपैयाँ खर्च गरेका छन्।
अनुगमनको नाममा लाखौं भत्ता
धनुषाको सहिदनगर नगरपालिकामा प्रमुखले नगरभित्रै अनुगमन गर्ने नाममा लखौँको भत्ता बुझेको पाइएको छ। सहिदनगर नगरपालिकामा नगरप्रमुख उदय बरबरियाले नगरभित्रै अनुगमन गर्न लाखौँ रुपैयाँ भत्ता बुझ्नुका साथै नगरपालिकाकै स्रोतबाट रकम खर्चेर विदेश भ्रमण गरेको पाइएको हो। महालेखापरीक्षकको प्रतिवेदनअनुसार सहिदनगर नगरपालिकाले दैनिक ७ हजार ८ सय ३८ रुपैयाँको दरले इन्धनमा एक वर्षमा २८ लाख ६१ हजार १५५ रुपैयाँ खर्च गरेको छ।
नगरपालिकाले पदाधिकारीको इन्धनमा १५ लाख ६० हजार ३सय ७९ र कार्यालय प्रयोजनमा १३ लाख ७सय ७६ गरी कुल २८ लाख ६१ हजार १५५ रुपैयाँ इन्धनमा खर्च गरेको हो । जसमध्ये नगरप्रमुख बरबरियाले नगरभित्र अनुगमनका नाममा ४ लाख ६९ हजार ९ सय रुपैयाँ इन्धन खर्च गरेका छन्।
नगरपालिकाले इन्धन खर्चको मापदण्ड तयार गरेको छैन भने सवारीसाधन अनुसार वार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरी अभिलेख समेत नरहेको महालेखापरीक्षकको कार्यालयले भनेको छ।