जनकपुरधाम, भादौं २५ गते
मिथिलाको महान पर्व चौठचन्द्र आज मनाइदै छन ।
प्रत्येक वर्ष भादौं महिनाको शूक्लपक्ष चौथी तिथिका दिन मनाइने मिथिलाको लोकपर्व चौठचन्द्र पर्व आज मनाइदै छ । खाँसगरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाइ, त्यसमाथि पूजाका सामग्रीहरू राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ ।सो क्रममा नयाँ माटोको भाँडोको दही केरा, मिठाई, फलपूmलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेउतालाई चढाइने गरिन्छ ।भाद्र शुक्ल चतुर्थी तिथि बेलुकी चन्द्रमाको दर्शन गरेमा मिथ्या कलङ्क लाग्ने जनविश्वास रहिआएको छ ।मिथिलाञ्चलमा चौठचन्द्र अर्थात चौरचनको व्रत र पूजा गर्ने पुरुष एवम् स्त्री धनवान् एवम् पुत्रवान् हुनुका साथै प्रशन्नचित्त हुन्छन् भने प्रसङ्ग पनि पुराणमा उल्लेख छ । यसको पूजा आँगनमा गरिन्छ, बिहानै लिपपोत गरी घर आँगन पवित्र बनाइन्छ । साँझपख आँगनमा अरिपन गरी अरिपनमाथि दहीको मटकुरी, फलफूल, खिर, पुरी, केरा मिष्ठानका साथै धूप, फूल चन्दन आदि सजाइन्छ । यसमा घरका पुरुष सदस्य बराबर दहीको मटकुरी र स्त्री सदस्य बराबर फलफूलको डाली राख्ने गरिन्छ ।पूजा सामग्री सजाइसकेपछि परिवारका सबै सदस्यले हातमा फल लिई चन्द्र दर्शन गर्छन् भने जेष्ठ महिलाले अरिपनमा राखिएका मटकुरी तथा डालीहरू पालैपालो उठाई अर्घ दिन्छिन् ।
चौथीका दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौठचन्द्र पर्व मान्ने परिवारजनले आज साँझ हालमा, केरा, नारिवल,स्याउ, सुन्तला, काँक्रा, नास्पाती, अम्बा, अनार लगायतका फलफुल लिएर भगवान चन्द्रदेवको दर्शन गर्ने परम्परा रहेको छ ।
अर्घपछि परिवारका पुरुष सदस्य पूजामा राखिएको प्रसाद ग्रहण गर्छन् त्यसपछि परिवारका अन्य सदस्यले खानपान गर्ने चलन छ ।
हरितालिका तीज, हरित (हरण गरिएकी)आलिका(शखीद्वारा) अर्थात् सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा पाइन्छ।
हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ।
हिन्दू नारीहरूको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर व्रत तोड्ने परम्परा छ।
परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरू निराहार र निर्जल बसी आजका दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बस्दैछन्।