काठमाडौं, भादों २७ गते
सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाएको छ ।
सोमबार अपराह्न २ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।
बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । संसद्को चालू अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । आज पनि एमालेको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन् ।बैठकलाई पुनः सञ्चालन गर्न सभामुख सापकोटाले आजै एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेको थियो । छलफलले कुनै निष्कर्ष निकाल्न सकेन ।
१५ मिनेट स्थगित भएर बैठक सुरु भए पनि एमालेको अवरोधका कारण अगाडि बढ्न सकेन । संसद् बैठक यही भदौ २९ गते सम्मका लागि स्थगित छ । एमालेले आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई संसद् बैठकमा सहभागी हुन दिएको भन्दै बैठक अवरोध गर्दै आएको छ ।
Discussion about this post