जनकपुरधाम, असोज २ गते ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोज ४ गते भित्रै सरकारले पूर्णता पाउने दावी गरेका छन् । सरकारमा सहभागी दलहरुले मन्त्री बन्ने नेताहरुको नामको निश्कर्ष लगाउन नसकिरहेको बेला दाहालले असोज ४ गते भित्रै सरकारले पूर्णता पाउने दावी गरेका हुन् ।
जनकपुरधाममा संचारकर्मीहरुसंग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले प्राविधिक कारणले सरकारलाई पूर्णता दिन ढिलाई भईरहेको स्वीकार गर्दै अब चाँडै नै मन्त्रीमण्डल विस्तार गरी सरकारले पूर्णता पाउने बताए । उनले सरकारले पूर्णता पाउन नसकेको विषयलाई बहाना बनाएर गठबन्धन तोड्नकै लागि गठबन्धनमा असन्तुष्टि रहेको प्रतिगामी शक्ति मिलेर भ्रमको श्रृजना गरिरहेको आरोप लगाए । उनले गठबन्धन बन्नु अगाडी नै प्रतिगामी शक्ति गठबन्धन बनोस भन्नेमा लागेको र अहिले आएर गठबन्धनमा तीव्र असन्तुष्टि रहेको भन्दै भ्रम छरिरहेको आरोप लगाए । पूर्व प्रम दाहालले भने ‘ प्रतिगामी शक्तिले रोक्न खोज्दा खोज्दै बनेको गठबन्धन संविधानको रक्षा, राष्ट्रको रक्षाका लागि बनेकाले ढुक्क भएर बस्नुस गठबन्धनमा कुनै किसिमको विवाद छैन यो गठबन्धन टुट्दैन ।’
एक अर्को प्रसंग दाहालले बिना परिमार्जन एमसीसी सम्झौता परिमार्जन गर्न नमिल्ने बताए । उनले पहिलेको एमसीसी प्रस्तावमा रहेका विषयहरु बिगारिएकाले यसलाई बिना परिमार्जन पारित गर्न नमिल्ने बताए । यस अघि शेरबहादुर देउवा नेतृत्वकै सरकार रहेको बेलामा एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित गर्नु पर्छ भन्ने कुनै प्रावधान थिएन, उनले भने ‘ तर पछि केपी ओली नेतृत्वको सरकारमा प्रतिनिधिसभाबाट पारित गर्नु पर्ने विषय आएपछि मात्रै एमसीसीको विवाद श्रृजना भएको थियो ।’ अगाडी भने ‘ अमेरिकी संसदमा जब यो एमसीसी इण्डो प्यासिफिक स्ट्रैटजीको अंग हो भन्ने विषय चर्चामा आएपछि यो विवाद झन चर्कियो ।’
यी गलत विषयहरुलाई संशोधन र परिमार्जन नभएसम्म एमसीसी पारित नहुने उनले दोहर्याए । पैसा र विकास हामीलाई चाहिएकोले एमसीसी सम्झौता परिमार्जनपछि प्रतिनिधिसभाबाट पारित गराउन तयार रहेको बताए ।