जनकपुरधाम, असोज ४ गते
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सुशासन कायम गर्न स्थायी सत्ता इमान्दार हुनु आवश्यक रहेको बताए ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रादेशिक सुशासन केन्द्रले बर्दिवासमा आयोजना गरेको स्थानीय तहको संस्थागत स्वमुल्यांकन सम्बन्धि समिक्षा एवं अनुशिक्षण कार्यक्रमलाई समुद्घाटन गर्दैै मुख्यमन्त्री राउतले सो कुरा बताएको हो ।
कर्मचारी तन्त्रको सहयोग विना अनियमितता हुनै नसक्ने बताउादैै मुख्यमन्त्री राउतले जनप्रतिनिधिलाई नियम कानून बुझाउने जिम्मा समेत स्थायी सत्ता अर्थात कर्मचारीहरुकै रहेको उल्लेख गरेका छन् ।
सुशासन कायम गर्ने पहिलो खुडकिलो स्वमुल्यांकन रहेको उल्लेख गर्दै उनले स्वमुल्यांकन लाई प्राथमिकतामा राख्न स्थानीय तहका प्रशासकीय अधिकृतहरुलाई निर्देशन समेत दिएको हो । प्रदेशका अधिकांश स्थानीय तहले स्वमुल्यांकन नतिजा प्रकाशन गर्न नसकेको तर्फ इकित हुँदै मुख्यमन्त्री राउतले भने,‘ हामी आफनो मुल्यांकन समेत हामीले गर्न सकि रहेको छैन, कसरी सुशासन सम्भव हुन्छ । ’
जनप्रतिनिधिहरु एउटा निश्चित अवधी मात्र रहने तर कर्मचारी हरु लामो समय रहने भएको हुनाले सुशासन कायम गराउने ठुलो दायित्व कर्मचारीहरुकै काँधमा रहेको बताएका छन् ।
प्रदेशमा भ्रष्टाचार अन्तको लागी जनलोकपाल आयोग गठन भै सकेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही गर्ने अधिकारी आयोगको रहेको हुँदा सचेत रहन आग्रह समेत गरेका हुन ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका प्रादेशिक निर्देशक एवं मुख्यमन्त्री कार्यालयका सचिव यम प्रसाद भुषालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख सचिव हरिप्रसाद मैनाली , संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सह सचिव वसन्त अधिकारी, मुख्यमन्त्री कार्यालयका सचिव विष्णु ढकाल सहितको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदेश स्थित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको छ ।