काठमाडौं,असोज ७ गते
हुम्लामा उत्तरी छिमेकी चनिले सीमा अतिक्रमण गरेको पुष्टि भएको छ ।
हुम्लामा उत्तरी छिमेकी चीनले सीमा अतिक्रमण गरेको पुष्टि भएको छ । चीनले मुख्यत दुई ठाउँमा बलमिच्याइँ गरेको र अन्य ठाउँमा पनि नेपाली भूमिभित्र पसेर गतिविधि गरिरहेको पाइएको हो ।हुम्लाको सीमा ५.१ र ५.२ लाई तारबार गरी चिनियाँ क्षेत्रतिर पारेर राखिएको छ । पुरानो ५.२ नम्बरको जंगे पिल्लर पनि उखेलेर नयाँ बनाइएको फेला परेको छ । गप्पुतोचामा पनि नेपाली भूमि अतिक्रमण भएको देखिएको छ । स्थानीयका अनुसार नेपालले बनाएको बाटो समेत चीनले आफ्नोतिर पारेको छ ।
गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेपाल चीन सीमा अध्ययन टोलीले यो तथ्य पत्ता लगाएको हो । हुम्लामा रहेको १२ नम्बर पिल्लर चीन आफैले नयाँ बनाएको खुलेको छ । लाप्चा भञ्याङ लिमीको लाप्चा क्षेत्रमा सीमाना अतिक्रमण भएको छ भने सीमानामा रहेको ९.२ को सीमा स्तम्भको बीचमा एकतर्फी रुपमा तारबार गरेको पाइएको छ । तारबारबारे नेपाललाई कुनै जानकारी छैन ।
स्थानीय कोटन्ब तामाङ भन्छन्, ‘राम्रोसँग बसेर कुरा भए हामी पनि कुरा राख्थ्यौं । तर उहाँहरुसँग बोल्न पाएका छैनौं । त्यहाँको आर्मी पुलिस आएर जबर्जस्ती खालको कुरा गर्छ । उहाँहरु मान्छे हुने हामी गोरु जस्तो हुने व्यवहार देखिँदै आएको छ । के भन्ने बिडम्बना छ ।’ सीमानामा रहेको ९.२ को सीमा स्तम्भको बीचमा एकतर्फी रुपमा तारबार गरेबारे स्थानीय फुन्जोक तामाङ भन्छन्, ‘७÷८ वर्षअगाडि यो तारबार थिएन । ३÷४ वर्ष अगाडि यो तारबार बनेको हो । यो स्तम्भ नेपालकै हो । चाइनाभित्र पर्दैन । यो एरिया नै हाम्रो नेपालकै हो । तर यसमा चीनले माथिसम्म तारबार लगाएर राखेको छ । यो त अति अन्याय भएको छ ।’
लिमीको लाप्चा क्षेत्रमा पनि अतिक्रमण भएको पाइएको छ । नेपालभित्र पर्ने ललोङजोङमा भौतिक संरचना निर्माण गरी सुरक्षा प्रयोजनमा उपयोग गरिएको देखिएको छ । चीनले हुम्लाबाटै मानसरोवर कैलाश दर्शन गर्ने स्थानलाई समेत आफ्नो भूभाग दाबी गरेको पाइएको छ ।
हुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले चीनले भूमि मिचेको तथ्य सबैभन्दा पहिला बाहिर ल्याएका थिए । अघिल्लो सरकारले नमिचेको भनेर ढाकछोप गरेका बेला शाहीले जोखिम मोलेर स्थलगत अध्ययन गरी तथ्य बाहिर ल्याएका थिए । अहिले सरकारले समिति बनाएर अध्ययन गर्दा आधिकारिक रुपमै सीमा मिचेको पुष्टि भएको हो ।
यसमा शाही भन्छन्, ‘चीनमा जुन खोला यतापट्टी थियो हाम्रोतिर भएको खोलालाई हाम्रो भूमि मिचिने गरी झारेर बाटो बनाएर मिचेको छ । अस्ति भर्खरैमात्र पानी झारेको छ । उच्चस्तरीय समिति जाँदाखेरी भत्काएर माटो हाले । हालैमात्र लिमी लाप्चा गाउँपालिकाको उपाध्यक्षले जहाँ हामीले कैलाश मानसरोवर दर्शन गर्ने ठाउँ छ त्यो भन्दा केही पश्चिमतिर हाम्रै भूभागमा फेरि चिनियाँहरु झण्डा गाडेको कुरा आएको छ ।परिवर्तन भएको छ । फेरि मिच्दै आएका छन् । अहिलेको परिवर्तन त्यहीँ हो ।
पहिलेको भन्दा दुइटा कुरा परिवर्तन भएको छ । एउटा फेरि यता आएर हाम्रोतिर झण्डा गाडे । दोस्रो हिल्सामा टिठ खोलाको पानी हाम्रोतिर ल्याएर नहर बनाउन खोजे । हाम्रो प्रहरी प्रशासनले विरोध गरेपछि अस्ति भर्खरैमात्र फेरि भत्काए । सीमा क्षेत्रका जनता पनि डराइरहेका छन् । ६ महिनासम्म उनीहरु नेपालको सम्पर्कभन्दा बाहिर छन् ।
ताक्लाकोट भनेको त्यहाँको नजिकको बजार हो । त्यसपछि चिनियाँका विरुद्ध केही बोल्यो भने वा उनीहरुले गरेका गल्तीबारे बोल्यो भने ताक्लाकोट जान पाइन्न । त्यहाँबाट आउने मैदा ल्याउन पाइन्न । खाद्यान्न ल्याउन पाइन्न भन्ने कुराहरु भइरहेको छ । अरु कुराहरु पनि ल्याउन पाइन्न भनेर त्रसित पार्ने काम भइरहेको छ । त्यहाँको जनताको सुरक्षा खाद्यान्न समस्या राज्यले हेर्नुपर्छ । जहाँ जहाँ चीनले क्याम्प राखेका छन् त्यहाँ त्यहाँ हाम्रो वीओपी राख्नुपर्छ । अनिमात्र सीमा रक्षा हुन्छ ।’
अध्ययन समितिले केही दिनभित्र प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने तयारी गरेको छ । अध्ययन समितिको निष्कर्ष पनि चीनबाट सीमा मिचिएको र यसलाई द्वपक्षीय सम्वादबाट हल गर्नपर्ने रहेको छ । यता कम्युनिस्ट सरकारबाट उन्मुक्ति पाएको चीनले भने हुम्लामा भूमि नमिचेको दाबी गर्दै आएको छ ।साभार नेपाल पाना