जनकपुरधाम, असोज ८ गते ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल विभिन्न विषयलाई लिएर समय समयमा चर्चामा रहँदै आएको छ ।
पछिल्लो पटक प्रादेशिक अस्पताल जनकपुरले एक कप चियामा ३७० रुपैयाँ खर्च गरेको पाइएको छ । करारमा नियुक्त डाक्टर, मेडिकल अफिसर, स्टाफ नर्स लगायतका १०९ जना कर्मचारी कोरोना महामारीको समयमा होटलमा बसेको अवधिमा एक कप चिया खाएवापत सो रकम खर्चिएको हो ।
करारमा नियुक्त डाक्टर, मेडिकल अफिसर, स्टाफ नर्सलगायतका कर्मचारी होटल तथा बैंकेटमा बसेको भन्दै एकजना चिकित्सकको सिफारिसको आधारमा ठेक्का दरअनुसार प्रतिव्यक्ति बासको १ हजार १ सय र चियाको ३७० का दरले ३८ लाख ९५ हजार खर्च लेखेको पाइएको छ । आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६ (८) मा भुक्तानी पूर्व रीत पुगे÷नपुगेको चेकजाँच गरेर मात्र भुक्तानी दिनुपर्ने व्यवस्था रहे पनि अस्पतालले सो रकम मनोमानी खर्च गरेको देखिएको हो ।
होटलमा बस्नुपर्दा खर्च गर्न पाउने मापदण्ड वा निर्देशिका बेगर भुक्तानी भएकोले यकिन गर्न नसकिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
त्यस्तै, प्रादेशिक अस्पताल जनकपुरले बिरामीको लागि खाना खुवाउने व्यवस्था गर्दा सम्झौता गर्नुपर्नेमा सो अनुसार नगरी एक होटललाई प्रति बिरामी प्रति छाक ५० रुपैयाँका दरले आर्थिक वर्ष २०७६÷७७ मा १३ लाख ४८ हजार भुक्तानी दिएको छ ।
प्रत्येक दिन बिरामी र खाना खुवाएको संख्या खुलाउनुपर्नेमा सो नगरी होटलले पेस गरेको निवेदन र बीलको आधारमा मात्र भुक्तानी दिएबाट वास्तविक खर्च यकिन गर्न नसकिएको महालेखाले ठहर गरेको छ ।
अस्पतालको बिरामी अभिलेखसँग भिडान गरेर मात्र भुक्तानी दिने व्यवस्था कार्यान्वयन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
अस्पतालको भौतिक संरचनादेखि लिएर अस्पतालमा फालाफाल चिकित्सकहरुको दरबन्दी गरिएको छ । यद्यपि विरामीहरुको सेवा सुविधामा भने कुनै किसिमको परिवर्तनको अनुभूति अहिलेसम्म हुन सकेको छैन ।
अस्पतालमा बिरामीहरूले सेवा सुविधा उत्कृष्ट नपाए पनि यस अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल विकास समितिका पदाधिकारीहरू भने पूरै अस्पताललाई भ्रष्टाचार गर्ने थलोको रुपमा प्रयोग गर्दै आईरहेको स्थानीयको गुनासो छ ।