जनकपुरधाम, असोज ८ गते ।
अहिले विभिन्न सूचना प्रवाह गर्न विज्ञान प्रविधिको प्रयोग गर्न थालिएको हो । जस मध्ये एक हो एसएमएस मार्फत सूचना प्रवाह गर्नु यो कम खर्चिलो र सहजै सूचना सम्बन्धित व्यक्तिलाई दिन प्रयोग गर्ने गरिन्छ । तर धनुषाको एउटा स्थानीय तहले एउटा एसएमएस पठाउनको लागि २७ हजार भन्दा बढी रकम खर्च गरेको पाइएको छ ।
जिल्लाको लक्ष्मीनिया गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा सफ्टवेयर खरिद वापत ९ लाख ८५ हजार ३ सय ६० खर्चेको छ । खरिद गरिएको सफ्टवेयर मध्ये ग्रुप एसएमएस पठाउनको लागि गाउँपालिकाले ४ लाख ९३ हजार ८ सय १० रुपैयाँ खर्चेको छ । तर सो सफ्टवेयरबाट १८ जनालाई मात्र एसएमएस गरिएको पाइएको हो । यस हिसाबले गाउँपालिकाले एउटा एसएमएस पठाउनको लागि २७ हजार ४ सय ३४ रुपैयाँ खर्चेको हो ।
महालेखापरीक्षकको ५८ औँ प्रतिवेदन अनुसार पालिकाले सफ्टवेयरमा लाखौँ रुपैयाँ खर्च गरेपनि काम मेनुअलमा नै भएको पाईएको हो ।
सार्वजनिक खरीद नियमावली २०६४ को नियम ७२(२) बमोजिम सार्वजनिक निकायले २० लाख रुपैयासमम्मको लागत अनुमान भएको परामर्श सेवा ऐनको दफा ६(क) बमोजिम मौजुदा सुचिमा रहेका संभव भएसम्म ६ र कम्तिमा ३ वटा परामर्शदाताबाट लिखित रुपमा प्राविधिक र आर्थिक प्रस्ताव माग गरी खरिद गर्न सकिने व्यवस्था रहेको छ ।
गाँउपालिका जिन्सी व्यवस्थापन, मोवाईल एप्स, ग्रुप एसएमएस तथा योजनाको कामका लागि सफ्टवेयर जडान गर्न तिन फर्मबाट दररेट माग गरी जिन्सी व्यवस्थापन र मोवाईल एप्स बापत जुपिटर टेक्नोलोजिलाई ४ लाख ९१ हजार ५५० र योजना र ग्रुप एसएमएस बापत सिटिजन्स ईन्फोटेक्सलाई ४ लाख ९३ हजार ८१० रुपैया भुक्तानी दिएको छ ।
पालिकाले एउटै प्रकृतीको सफ्टवेयर एकै पटक खरीद गर्न सकिनेमा टुक्रा–टुक्रा गरी दुई परामर्श दाताबाट खरिद गरेको अनियमीत देखिएको महालेखापरीक्षकको कार्यालयले ओल्याएको छ । साथै पालिकाले खरिद गरेको भनिएका जिन्सी, योजना र मोवाईल एप चालु अवस्थामा छैन् ।
गाउँपालिकाले खरिद गरेका ग्रुप एसएमएस सफ्टवेयरमा २१ जनाको सम्पर्क नम्वर समावेस भएको र १८ वटा एसएमएस पठाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सो सफ्टवेयर अहिले बन्द अबस्थामा रहेको छ ।
महालेखापरीक्षकको प्रतिवेदनले सामान्य मोवाईल प्रयोग गरेर गर्न सकिने ग्रुप एसएमएसको लागि सफ्टवेयर जडान गर्नुको औचित्य नरहेको भनेको छ ।