जनकपुरधाम, असोज १२ गते
नव गठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएको छ । आइतवार दिउँसो देखी लोसपाको बसेको बैठकमा सर्वसम्मत प्रयास हुन नसकेपछि शिर्ष नेताहरुको उपस्थितिमा अबेर राती सम्म भएको मतदानबाट सोनल प्रदेश नं २ को संदसीय दलको नेतामा निर्वाचित भएको हो ।
प्रदेश २ मा लोसपाका १६ जना प्रदेश सभा सदस्यहरुले गरेको निर्वाचनबाट सोनल ९ मत ल्याई निर्वाचित भएका छन् भने प्रदेश सांसद उपेन्द्र महतोले ६ मत ल्याए । त्यस्तै एक मत बदर भएको थियो ।
तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ सरकारमा सहभागी हुँदा पनि संसदीय दलको नेता सोनल नै थिए ।
सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि जसपाबाट छुट्टिएर महन्थ ठाकुरको नेतृत्वमा लोसपा नेपाल गठन गरिएको छ ।
सो अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को निर्णय एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ११४ को उपधारा २ को खण्ड (ख) बमोजिम सोमबार खारेज समेत गरिसकेकी छन् ।