जनकपुरधाम, असोज २३ गते ।
प्रदेश नं २ को अस्थायी राजधानीमा धमाधम व्यवसायीक प्रतिष्ठानहरु खुल्न थालेका छन् ।
व्यवसायीक प्रतिष्ठान खुलिरहेको बेला जनकपुरमा एक क्याफे एण्ड रेष्टुरेन्ट आज देखी संचालमा आएको हो । जनकपुरधामको वजरंग चौक स्थित सोलमेट क्याफे एण्ड रेष्टुरेन्टको आज समुद्घाटन भएको छ । उक्त क्याफे एण्ड रेष्टुरेन्टको समुद्घाटन नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले गरेको छ । समुद्घाटन कार्यक्रममा उपसभापति निधिले प्रदेश२ को नामाकरणमा विवाद रहेपनि राजधानी भने जनकपुरधाम नै रहने दावी गरेका छन् ।उपसभापति निधिले प्रदेशको राजधानीको सवालमा कुनै दुईमत नरहेको बताउँदै जनकपुरधाम राजधानीका लागि सबै दृष्टिकोणले उपयुक्त रहेको स्पष्ट पारे । उनले भने,‘प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै रहन्छ, यसमा कुनै शंका नगर्नुस् । जचुकालिको भवन पनि प्रदेश सरकारका लागि उपयुक्त रहेकाले यो भन्दा अर्को कुनै उत्तम विकल्प नै छैन् ।’
पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता निधिले प्रदेशको राजधानी जनकपुरधामबाट सार्ने उद्देश्यले केही पार्टीका नेताले जचुकालि पुनः सञ्चालन गर्ने कुरा गरेर जचुकालिको सबै सम्पत्ति बेच्ने षड्यन्त्र गर्न लागिपरेको आरोप समेत लगाए ।
उपसभापति निधिले जनसंख्याको आधारमा मैथिली भाषा नेपालको दोश्रो र प्रदेश २ को पहिलो भाषा रहेकाले मैथिली सरकारी कामकाजको भाषा बन्नेमा दुई मत नरहेको बताए । उनले मैथिली भाषालाई प्राथमिकतामा राख्नका लागि आवश्यक दबाव दिइरहन प्रदेशवासीलाई आग्रह समेत गरे ।
एक अर्को प्रसङ्गमा बोल्दै नेता निधिले आफू काँग्रेसको आगामी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार रहेकाले पार्टीका नेता कार्यकर्तालाई आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । सभापतिमा उम्मेद्वारी घोषणा गरिसकेकाले सम्पर्क कार्यालय खोलेर काम अघि बढाएको उनले बताए ।
लामो समय सभापति शेरबहादुर देउवा निकट रहेर काम गरेका निधि आसन्न महाधिवेशनमा देउवालाई नै चुनौती दिने गरि महाधिवेशन केन्द्रित गतिविधि अगाडि बढाएका छन् । रेष्टुरेन्टका संचालक मनोज चौधरीको अध्यक्षता आयोजित समुद्घाटन समारोहमा प्रदेश नं २ का भौतिक पुर्वाधार तथा विकास मन्त्री राम सरोज यादव, मैथिलि विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, राम युवा कमिटीका पुर्व अध्यक्ष प्रमोद चौधरी, जितेन्द्र प्रसाद साह लगायतको उपस्थिति रहेको थियो ।