जनकपुरधाम,असोज २८
जनकपुरको राजदेवी मन्दिरमा १४ हजारभन्दा बढी बोकाबलि भएको छ। वडादसैंअन्तर्गत महाष्टमी तिथिको राति राजदेवी मन्दिरमा १४ हजार २४१ बोकाबलि भएको हो।
बुधबार राति ८ बजेर ५ मिनेटमा सुरू भएको बोकाबलि बिहान ३ बजेर ३८ मिनेटसम्म चलेको थियो।
अघिल्लो वर्ष राजेदवी मन्दिरमा ८ हजार ९६८ बोकाबलि भएको थियो। गत वर्ष कोरोना महामारीका कारण श्रद्धालुहरू आउन नसकेका थिएनन्।
राजदेवी मन्दिरमा वर्षमा एकपटक महाष्टमीको रातिमात्रै बोकाबलि दिने परम्परा छ। भाकल गर्नेहरूका साथै कतिपय स्वइच्छाले यहाँ बोकाबलि दिने गरेका छन्।राजदेवी मन्दिरमा बोकाबलि दिन नेपालका साथै छिमेकी भारतबाटसमेत श्रद्धालुहरू आउने गर्दछन्।बोकाबलिलाई व्यवस्थापन गर्न स्थानीय महावीर युवा कमिटी, राम युवा कमिटीसहित अन्य स्थानीय युवा कमिटीका सयौं युवाहरू परिचालन गरिएको थियो।