जनकपुरधाम, कार्तिक ५ गते
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले अध्यादेश ल्याएर पनि जनकपुरधाम–जयनगर रेल चाँडै संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। शुक्रबार जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले रेल चाँडै सञ्चालनमा ल्याउन माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले अध्यादेश ल्याएर भए पनि रेल चाँडै सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिइन्। उनले भनिन्, ‘कानुनी अड्चनका कारण रेल सञ्चालनमा ढिलाइ भइरहेको थियो, तर अध्यादेश ल्याएर कानुनी अड्चन हटाउने छौँ।’ अगाडि भनिन्, ‘अब विधेयक पनि राष्ट्रिय सभाबाट फिर्ता भइसकेकाले चाँडै नै अध्यादेशमार्फत रेल सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ।’ एक वर्षदेखि रेलको इन्जन बोगीसहित किनेर थन्किएको छ, तयार पूर्वाधार समेत ठाउँ–ठाउँमा टुटफुट थालेको कारण आगामी विवाह पञ्चमीसम्ममा रेल सञ्चालनमा ल्याउन जनकपुरधाम उद्योग वाणिज्य संघले माग गरेको छ। उनीहरुको मागमा मन्त्री यादवले विवाहपञ्चमी देखि नै सञ्चालन हुने ग्यारेन्टी नभए पनि चाँडै नै सञ्चालनमा ल्याउने बताइन्। उनले रेल मात्र नभइ सडक सञ्जालसहितका पूर्वाधार विकास निर्माणको कार्यलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिन्।आज ज्ञापन पत्र बुझाउन गएका टोलीमा जनकपुरधाम उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष निर्मल चौधरी, वर्तमान वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, उपाध्यक्ष अम्मु प्रसाद साह, महासचिब मनोज कुमार साह, सचिब फुलदेव पंडित, कोषाध्यक्ष परमेश्वर साह लगायतका पदाधिकारी रहेका थिए ।