जनकपुरधाम, कार्तिक २६ गते ।
दुई वर्ष कोरोना महामारीले थलिएको जनकपुरधाममा विगत वर्ष झैँ यस वर्ष विवाहपञ्चमी महोत्सवलाई भव्य बनाउनका लागि सात दिवसीय विविध कार्यक्रम आयोजन गर्ने भएको छ ।यसवर्ष आउँदो मंसिर २२ मा सिताराम विवाहपञ्चमी हुने भएकाले अहिले देखि नै तयारी थालिएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।
एक सातासम्म विभिन्न कार्यक्रम हुने भएकाले यस वर्ष मंसिर १७ देखि नै विवाहपञ्चमी महोत्सव सुरु हुने महन्त दास वैष्णवको भनाइ छ ।
उनले यस वर्ष छठ पर्वमा निकै भिड देखिएकाले आउँदो मंसिर २२ मा हुने विवाहपञ्चमीमा भारतलगायत अन्य मुलुक तथा आन्तरिक श्रद्धालु भक्तजनहरुको उल्लेख्य भिडभाड हुने भएकाले अहिले देखि नै व्यवस्थापनसहितको तयारी थालिएको उनले बताए ।
उनले गतवर्ष कोरोना महामारीका कारण विवाहपञ्चमी औपचारिकतामा मात्र सिमित भएकाले यस वर्ष भव्यतासाथ मनाउने उद्देश्य रहेको स्पष्ट पारे । यसका लागि भव्य रुपमा विवाहपञ्चमी मनाउन विभिन्न १९ वटा समिति तथा उपसमितिहरु गठन गरिएको छ ।
जानकी मन्दिरमा राखिएको सर्वपक्षीय बैठकमा महन्त वैष्णवले विवाह पञ्चमी महोत्सवका लागि शान्ति सुरक्षा व्यवस्थापन, प्रचार प्रसार, यातायात व्यवस्थापन, बजार व्यवस्थापन, रंगभुमी मैदानमा पण्डाल एवं गेट व्यवस्थापन, भारतको अयोध्याबाट आउने जन्तीको स्वागत, श्रद्धालुभक्तजनको भिडभाडको व्यवस्थापन सहित बसोबासको व्यवस्थापन, विद्युत आपूर्तिलगायतका लागि समिति गठन गरिएको बताए ।
फोहोर व्यवस्थापन, र शौचालय व्यवस्थापनमा जनकपुरधाम उपमहानगरपालिका र जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्ले समेत ध्यान नदिने गरेको गुनासो गर्दै महन्त वैष्णवले सरोकारवाललाई गम्भिरतासहित ध्यानाकर्षण गराए ।
विवाहपञ्चमी महोत्सवलाई भव्यता बनाउन आवश्यक सहयोग गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारसँग आग्रह समेत गरे ।
यही मंसिर १७ मा जनकपुरधाम नगर दर्शन, १८ मा फूलवारी लिला, १९ मा धनुष यज्ञ, २० मा तिलकोत्सव, २१ मा मटकोर, २२ मा शुभ–विवाह र २३ मा रामकलेवा कार्यक्रम तालिका रहेको जनाइएको छ ।