जनकपुरधाम, कार्तिक २८ गते ।
प्रदेश २ सरकारले नेकपा एकिकृत समाजवादी पार्टीका एक नेतालाई मन्त्री बनाउने तयारी गरेको छ । सरकारमा नेकपा एकिकृतलाई शामिल गराउनका प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले तयारी प्रक्रिया सुरु गरेको हो । मुख्यमन्त्री राउतलेनेकपा एकिकृत समाजवादीलाई सरकारमा शामिल गराउनका लागि प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले एक मन्त्रीलाई राजिनामा दिलाउने तयारी गरेका छन् ।
प्रदेश सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्र यसअघि नै शामिल भई सकेपनि नेकपा एकिकृत समाजवादी मन्त्रालयमा चित्त नबुझेका कारण अहिले सरकारमा शामिल भएको छैन । चित्त बुझ्दो मन्त्रालय दिएर नेकपा एकिकृत समाजवादीलाई पनि सरकारमा शामिल गराउने कसरतमा मुख्यमन्त्री राउत लागेको श्रोतको दावी छ ।
यसका लागि मुख्यमन्त्री राउतले एक मन्त्रीलाई राजिनामा दिनका लागि निर्देशन समेत दिई सकेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । श्रोतका अनुसार उद्योग, वन तथा पर्यटन मन्त्री रामनरेश रायलाई राजिनमा दिनका लागि मुख्यमन्त्री राउतले निर्देशन दिएका हुन् । रायले राजिनामा दिएको भोली पल्टै नेकपा एकिकृत समाजवादीलाई सरकारमा शामिल गराउने प्रदेश सरकारको तयारी छ ।
एकीकृत समाजवादीले मुख्यमन्त्री राउतसंग करिब एक महिना अघि देखि आकर्षक मन्त्रालयका लविंग गर्दै आएको मुख्यमन्त्री कार्यालयको भनाइ छ ।
यता सरकारमा नेकपा एकिकृत समाजवादीले पाउने मन्त्रालय संसदीय दलको नेता शत्रुधन महतोले सम्हाल्ने जनाइएको छ । यसका साथै मुख्यमन्त्री राउतले आफ्नो मातहत राखेको २ मन्त्रालय मध्ये एक मन्त्रालय थप दिने तयारी गरिएको छ ।
यद्यपि मुख्यमन्त्री राउतले उद्योग वन तथा पर्यटन मन्त्रीले राजिनामा दिन अस्वीकार गरे त्यस परस्थितिलाई ध्यानमा राख्दै सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई समेत राजिनामा दिनका लागि निर्देशन दिएको बताइएको छ ।
यस अघि मुख्यमन्त्री राउतले काँग्रेसलाई सरकारमा ल्याउन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा र उद्योग, वन, पर्यटन राज्य मन्त्री सुरेश मण्डललाई असक्षम रहेको पदबाट हटाएका थिए ।
त्यस्तै माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउनका लागि तत्कालिन आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज कुशवाहालाई राजिनामा दिन लगाइएका थियो ।