जनकपुरधाम, कार्तिक २९ गते ।
प्रदेश २ को मुख्यमन्त्री कार्यालयले खरिद गरेको साइकलमा अनियमितता देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले स्पष्ट गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रदेश २को मुख्यमन्त्री कार्यालयले छात्राहरुका लागि खरिद गरिएको साइकलमा अनियमितता भएको जानकारी दिएका छन् ।
मुख्यमन्त्री बेटी पढाउ बेटी बँचाउ अभियान अन्तर्गत छात्राहरुलाइ वितरण गर्नका लागि खरिद गरिएको साइकलमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो । त्यस पछि अख्तियारको टोलीले साइकल खरिदको फाइल नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
अख्तियारको बर्दिबास कार्यालय प्रमुख सापकोटाले साइकल खरिदमा भएको अनियमितताको सम्बन्धमा परेको उजुरीमा प्रारम्भिक अनुसन्धनको क्रममा अनियमितता भएको देखिएको बताए । उनले भने, ‘प्रारम्भिक अनुसन्धानको क्रममा अनियमितता भएको देखिएकोले त्यस चरणलाई सकाएर दोस्रो चरणमा विस्तृत रुपमा अनुसन्धान थालेका छौँ । त्यसका लागि छुट्टै अनुसन्धान अधिकृत नियुक्त गरेर विस्तृतमा अनुसन्धान अगाडी बढछ ।’
सापकोटाले विस्तृत अनुसन्धानमा समेत अनियमितता भएको देखिएमा कर्मचारी तथा पदाधिकारीमाथि भ्रष्टाचारको मुद्दा दायर हुने बताए । विस्तृत अनुसन्धान हुन एक डेढ महिना लाग्ने सापकोटाले भने । उनले खरिदमा संलग्न कर्मचारीहरुको बयान लिने तथा प्रमाणहरुलाई परिक्षण भइरहेको र यसमा पनि अनियमितता देखिए कारवाही प्रक्रिया अगाडी बढाइने उनले भने ।
विस्तृत अध्ययनको लागि केन्द्रिय टोलीले अनुसन्धान थालेको हो ।