मंसिर १ गते
भारतको दिल्लीमा दुई नेपालीभाषी महिलाको हत्या भएको छ ।
दिल्लीमा घरेलु काममा कार्यरत दुई नेपालीभाषी महिलाको हत्या भएको हो ।सोमबार हत्या गरिएका महिलामा मिरिककी ३५ वर्षीया मिना राई र दार्जिलिङको मगरजोङकी ४० वर्षीया सुजला गुरुङ छन् । दिल्लीस्थित निजामुद्दिन थाना अन्तर्गत के ब्लक जङ्गिपुरा एक्सटेन्सनको एक घरमा उनीहरुको शव फेला परेको हो । उनीहरु त्यही घरमा कार्यरत थिए । उनीहरुको मुखमा टेप लगाइएको र हात–खुट्टा बाँधिएका कारण उनीहरुको हत्या भएको प्रहरीको दाबी छ ।भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार दिल्लीको जङ्गिपुरामा कार्यरत दुई महिलाको अज्ञात व्यक्तिहरूले हत्या गरेको हो । प्रहरीले जाँचका क्रममा ४५ सेकेन्डको सीसीटिभी फुटेज फेला पारेको छ । जसमा महिलाको शव भेटिएको घर बाहिर पाँच मास्कधारी उभिएको देखिन्छ ।घटनाको अनुसन्धानका क्रममा प्रहरीले सुजला गुरूङको फोन रेकर्ड फेला पारेको छ । मिना राईको मोबाइल भने गायब छ ।एम्स अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई शव हस्तान्तरण गरिएको र उनीहरुको मंगलबार अन्त्येष्टि गरिएको छ ।