जनकपुरधाम, मंसिर १९ ।
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले यसपटक सभापतिमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरिसकेका छन् । मंसिर २४ गतेदेखि मंसिर २७ गतेसम्मका लागि नेपाली कांग्रेसको हुन लागेको महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका उपसभापति निधिको चर्चा मधेसमा सबैभन्दा बढी भइरहेको छ ।
हुनपनि देशकै सबैभन्दा पूरानो पार्टी नेपाली कांग्रेसको नेतृत्व कुनै मधेशीले समेत पाउन सक्छ भन्ने विश्वास आम मधेशीमा निधिको उम्मेदवारीले पलाएको छ ।
२०७४ को प्रतिनिधिसभा चुनावमा धनुषा–३ बाट पराजित निधि यसपटक पार्टीकै सभापतिमा नै उम्मेदवारी घोषणा गर्नुले मधेसमा काँग्रेसको राजनीतिलाई हावा दिएको हो । शेरबहादुर देउवाले पुनः सभापतिमा दोहोरिन चाहेपछि उपभापति निधिले विद्रोह गर्दै सभापतिमा उम्मेदवारी दिने हिम्मत देखाएका छन् । योसँगै संस्थापन पक्षका मधेसका नेता कार्यकर्ता दुई गुटमा बाँडिएका छन् । यद्यपि मधेशमा निधिको पलडा भारी रह्ने निश्चित छ ।
राजनीति निधिले पारिवारिक विरासतमा पाएप्नि कांग्रेसभित्र विमलेन्द्र निधि त्यस्ता नेता हुन्, जो पिताको विरासतको छायाँ बाहिर आफ्नै संघर्षबाट स्थापित भए । विमलेन्द्रले स्थापित गरेको अर्को मान्यता के हो भने, बाबु चुनाव लड्दासम्म उनले टिकट खोजेनन् ।
२०५१ को मध्यावधि निर्वाचनमा बाबुले छाडेको तत्कालिन धनुषा–४ बाट उनी पहिलोपटक सांसद् भए । २०५६ को निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका उनी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा धनुषा–३ बाट विजयी भए । उनले जनकपुर नगर समेटिएको धनुषा–४ छोड्नुको प्रमुख कारण थियो– त्यो निर्वाचन क्षेत्रमा जातिवादी, अतिवादी र आपराधिक सोच भएकाहरू निर्णायक बन्नु ।
त्यसो त, मधेशी समुदायका भए पनि कांग्रेसको सिंगो पार्टी संगठनमा छाएका नेता विमलेन्द्र पछिल्लो समय सभापतिको उम्मेदवारी घोषणा गरेसंगै उनको चर्चा झन बढेको हो । संविधान जारी हुनुअघि उनले पार्टीको संसदीय दलमा पेश गरेको जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता वितरणलगायतका मागले कांग्रेसभित्र हल्लीखल्ली भएको थियो ।
विमलेन्द्र कार्यकर्तामाझ ’विमल दाइ’ का रूपमा चिनिन्छन् । मधेशका मुद्दामा आक्रामक रूपमा पेश हुनथालेका उनी मधेशी समाजमा निर्णायक मानिने जातीय समीकरण मिलाएर कांग्रेसको प्रभाव फर्काउन सफल हुन्छन् ।
दुई दशकअघि नेपाली कांग्रेसको बहुमतले प्रधानमन्त्री बनाउने निर्णय गर्दागर्दै महेन्द्रनारायण निधि जनकपुर फर्किनुपरेको थियो । आज त्यही हैसियतमा पुग्न थालेका उनका छोरा विमलेन्द्रमाथि मधेशी भएकै कारण भोग्नुपर्ने चुनौती पनि छन् ।
यी सब चुनौतीलाई पार गर्दै निधि सफलताको झण्डा लहराउनेमा कांग्रेसी कार्यकर्ताहरुको विश्वास छ ।