जनकपुरधाम, मंसिर २० गते ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव हर्षाेउल्लासका साथ मनाइएको छ । त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत सोमबार तिलकोत्सव विधि गरिएको हो ।
श्री महावीर युवा कमिटीको आयोजनामा राममन्दिरको प्राङ्गणमा तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको नेतृत्वमा पुगेका थिए ।
प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधाम स्थित राम मन्दिरका महन्थ राम गिरीले अंकमाल गर्दै समधी मिलन गरेका थिए । दुई महन्थ अंकमाल गर्ने कार्यलाई मिथिलामा समधी मिलन भन्ने गरिन्छ ।
तिलकोत्सवको अवसरमा दुवै पक्षबीच हास्य परिहास समेत भएको थियो । जानकी मन्दिरबाट फलफूल, मिष्ठान परिकार लगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरु राम मन्दिरको प्राङ्गणनमा आइ तिलकोत्सव कार्यक्रममा सहभागि भएका थिए ।
तिलकोत्सवमा दुलही पक्षका प्रतिनिधित्व गर्दै जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासले पाहुर ‘भार’ दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्थ गिरीलाई हस्तान्तरण गरि सम्धी मिलन गरेका थिए ।तिल्कोत्सवको अवसरमा स्थानीय कलाकारहरले सा.स्कृतिक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा मिथिला क्षेत्रका चर्चित गायिका रशमी रानी लगायतका कलाकारहरुले गीत संगीत प्रस्तुत गरिएको थियो । अब विवाहपञ्चमी अन्तर्गत मंगलबार जानकीको मटकोर हुनेछ । मटकोर विधि गंगासागर पोखरीमा हुनेछ भने बुधबार विवाहपञ्चमीको मुख्यदिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ । बिहिबार रामकलेवा विधि सम्पन्न भएसंगै यस वर्षको विवाहपञ्चमी विधिवत रुपमा सम्पन्न हुनेछ ।