जलेश्वर, मंसिर २९ गते
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महोत्तरी सदरमुकामस्थित जलेश्वरनाथ महादेव मन्दिरको विकासका लागि सक्दो पहल गर्ने बताएकी छन् । उनले आज मन्दिरमा पूजाअर्चना गर्दै मन्दिरको जीर्णोद्वारका लागि पहल गर्ने बताइन । जलेश्वरनाथ मन्दिरमा टुटे, भत्केका संरचनाको पुनःनिर्माणलगायत काममा आफ्नो भरपुर सहयोग रहने मन्त्री झाँक्रीले आश्वासन दिएको हो । उनलाई महादेव मन्दिरमा जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रले माला र गमछा लगाएर स्वागत गरेको थियो । मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले मन्त्री झाँक्रीलाई पूजामा सहयोग गरेको थियो ।