८ पुस, काठमाडौं
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको छ ।आसन्न निर्वाचनका लागि कर्मचारीहरुको भूमिका झन् बढ्ने भएकाले कर्मचारीहरुको सरुवा रोकिएको हो ।
मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार पछि फेरि उपयुक्त समयमा अन्तर स्थानीय तहमा सरुवा गर्ने गरी अहिलेलाई सरुवाको काम स्थगित गरिएको हो । संघले स्थानीय तहमा पठाएका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायतका कर्मचारीहरुको सरुवा भने नरोकिएको उनले बताए ।
मन्त्रालयले जारी गरेको सूचनामा लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्त भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।यसअघि मन्त्रालयले आवश्यकता र प्राथमिकताका आधारमा अर्को व्यवस्था नभएसम्मका लागि स्थायी नियुक्त कर्मचारीहरुलाई कामकाजमा खटाउँदै आएको थियो ।
२०७६ सालमा संघीय लोक सेवा आयोगको परीक्षा पास गरी नौ हजार कर्मचारी स्थानीय तहमा भर्ना भएका थिए । प्रदेश लोक सेवा आयोग गठन नभइसकेकाले त्यतिबेला संघीय लोक सेवा आयोगले परीक्षा लिएर नियुक्तिका लागि सिफारिस गरेको थियो ।
यसरी सिफारिस भएका कर्मचारीहरुलाई पारिवारीक समस्या र अपायक परेको लगायतका कारण सम्बन्धित स्थानीय तहको स्वीकृतिमा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गरिंदै आएको थियो । सरुवा माग गर्दै निवेदन दिएका करिब १६ सय २० कर्मचारीहरुको अन्तर स्थानीय तहमा सरुवा गरिएको थियो ।त्यसपछि पनि सरुवा माग गर्दै मन्त्रालय दैनिक दुई दर्जन हाराहारीमा निवेदन दिने क्रम जारी थियो । यसबाट स्थानीय तहको सेवा प्रवाह नै प्रभावित भएको मन्त्रालय स्रोत बताउँछ ।
स्थानीय तहको सेवा प्रभावित भएको र निर्वाचन पनि नजिकिएकाले अन्तर स्थानीय तह कर्मचारी सरुवा स्थगित गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
Discussion about this post