जनकपुरधाम, पुस २२ गते
३ वर्ष वितिसक्दाको एक घटनाले नयाँ मोड लिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको लफडाका कारण नयाँ मोड लिएको हो । घटना हो जनकपुरधाम उमहानगरपालिका वडा नं ४ को । ३ वर्ष वितिसक्दाको घटनाले आज एक नयाँ मोड लिई जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष सुदर्शन सिंहलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४का अध्यक्ष सुदर्शन सिंह बिरुद्ध पक्राउ पूर्जी जारी भएपछि आफूलाई सुनियोजित ढंगबाट फसाउने गरी पक्राउ पूर्जी जारी गराउन लगाइएको गुनासो गरेका छन् । वडाध्यक्ष सिंहले आफूलाई जनकपुरधामका नगरप्रमुख लालकिशोर साहले पद र शक्तिको दुरुपयोग गरी आफू बिरुद्ध पक्राउ पूर्जी जारी गराउन लगाएको आरोप लगाएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४स्थित गुठीको तैनाथी जग्गामा रहेको कृषि उपज बजार (शुक्रबारी बजारमा) तोडफोडमा संलग्न रहेको आरोपमा जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी जारी गरिएको हो । नगरप्रमुख साह बिरुद्ध जनकपुरधामको फोहोर मैलाको विषयलाई लिएर जनप्रतिनिधिहरु आन्दोलनमा छौँ, वडाध्यक्ष सिंहले भने ‘उनले सोही विषयलाई लिएर पुरानो मुद्दाको बलमा मलाई फसाउन खोजि रहेका छन् ।’
वडाध्यक्ष सिंहका अनुसार जनप्रतिनिधिहरुको आन्दोलनलाई मत्थर पार्नकै लागि महिनौ पछि बसेको उपमहानगरको बोर्ड बैठकको ठीक एक दिन उनकोे हाथमा पक्राउ पुर्जी परेको थियो जबकि त्यो पक्राउ पूर्जी २०७८ कार्तिक २३ गतेकै दिन अदालतबाट पक्राउ पूर्जी जारी गरिएको थियो । उनले भने ‘पक्राउ पूर्जी २ महिना अगाडी नै जारी गरिएको थियो, तर बोर्ड बैठकमा बिरोधका स्वरहरु नसुनियोस त्यसकै लागि नगरप्रमुखले बोर्ड बैठक बस्नुभन्दा ठीक एक दिन अगाडी मेरो हातमा पक्राउ पूर्जी पठाइएको थियो ।’
सिंहले नगरप्रमुख साहले आफ्नो स्वार्थ साध्नकै लागि २०७५ सालमै जिल्ला अदालतबाट निक्र्यौल लागि सकेको मुद्दालाई लिएर सेटिंग गरेर मलाई फसाइएको आरोप लगाए ।
वडाध्यक्ष सिंह बिरुद्ध किन जारी भयो पक्राउ पूर्जी ?
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४का वडाध्यक्ष सुदर्शन सिंह बिरुद्ध २०७८ कार्तिक २३ गते पक्राउ पूर्जी जारी गरिएको थियो । आपराधिक उपद्रवका साथै सर्वाजनिक संरचनामा तोडफोड गरेको आरोपमा वडाध्यक्ष सिंह सहित ५ जनाबिरुद्ध जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी जारी गरिएको थियो ।
सिंह सहित शिवम कन्सट्रक्सनका खुश्वु सिंह, कुञ्जयकुमार सिंह, जीवछ साह र उपेन्द्र यादव बिरुद्ध पक्राउ पूर्जी जारी गरिएको थियो । उनीहरु बिरुद्ध जनकपुरधाम वडा नम्बर ४मै रिंकु स्टोर्स नाम पसल संचालन गर्दै आई रहेकी गिताकुमारी साहको जाहेरीको आधारमा पक्राउ पूर्जी जारी गरिएको हो ।
गीता केही वर्ष अगाडीसम्म शुक्रबारी बजारमै पसल चलाउँदै आई रहेकी थिइन् । गीताले बहाल वर्षोसम्म नबुुझाएपछि गुठीसंग सम्झौता गरेर बजारको ठेक्का लिएको शिवम कन्स्ट्रक्सनले पसल खाली गराउन पटक पटक ताकेदा गरेको थियो । गिताले पसल खाली गर्न नमानेपछि शिवम कन्स्ट्रक्सनकि संचालिका खुश्वु सिंहले २०७४ फागुन १४ गते पसल खाली गराई दिनका लागि जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दिएकी थिइन् । सोही निवेदनको आधारमा जिप्रका धनुषाले जनकपुरधाम उपमहानरपालिका र जिल्ला प्रहरी कार्यालय धनुषालाई पसल खाली गराई दिन २०७४ फागुन १५ गते पत्र काटेको थियो । त्यस लगत्तै उपमहानगरले खाली गराउनका लागि वडा नम्बर ४मा पत्र काटेको थियो ।
उपमहानगरले पत्र काटेकै आधारमा वडाध्यक्ष सिंहले जिल्ला प्रशासन कार्यालय धनुषा, गुठी संस्थान जनकपुरधामको प्रतिनिनिधिको रोहवरमा गीतादेवीको पसल खाली गराउन लगाएका थिए । पसलबाट खाली गराइएका सामानहरु उनीहरुलाई नै बुझाइएको वडाध्यक्ष सिंहले दाबी गरे ।
सोही रिसमा गीतादेवीले शिवम कन्स्ट्रक्सनको संचालिका खुश्वु सिंह सहित जिल्ला प्रहरी कार्यालय, वडाध्यक्ष सिंह लगायत बिरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दिएका थिए । तर जिल्ला अदालत धनुषाले गीतादेवी बिरुद्ध आदेश दिएपछि परमादेशका लागि उच्च अदालत जनकपुरधाम पुगेकी थिइन् । गीतादेवीले एउटै व्यहोरा उल्लेख गरेर निषेधाज्ञा, परमादेश, उत्प्रेषण, लुटपाट, आपराधिक उपद्रव, सार्वजनिक सम्पति गरी १ दर्जनभन्दा बढी मुद्दा दर्ता गराएका थिए । ती सबै मुद्दामा गीता बिरुद्ध अदालतले फैसला दिएको देखिएको छ ।
हरेक मुद्दामा पराजित भएपछि ३ वर्ष शान्त भएर बसेकी गीतालाई नगरप्रमुख साहले उक्साएर फेरी जाहेरी दिन लगाएको वडाध्यक्ष सिंहको आरोप छ । उपमहानगरको कार्यपालिकाका सदस्य रहेका दिगम्बर चौधरीको गीता बहिनी रहेको सुइको पाएर नगरप्रमुखले आफू बिरुद्ध षडयन्त्र रचेको वडाध्यक्ष सिंहको भनाई छ ।
फैसला भई सकेको मुद्दालाई ३ वर्षपछि फेरी ब्युँताएर हुलाक मार्फत जाहेरी दिन लगाएर आफू बिरुद्ध पक्राउ पूर्जी जारी गराउन लगाइएको सिंहले बताए ।
सिंह भन्छन् ‘आफू जनप्रतिनिधिको हैशियतले उपमहानगरकै आदेश कार्यान्वयन गराइ रहेको थिएँ तर मबिरुद्ध जनप्रतिनिधिको हैशियतमा नभई व्यक्तिको रुपमा मुुद्दा दर्ता गराइएको थियो, जाहेरीमा पनि वडाध्यक्ष नभई व्यक्तिमात्रै किटान गरिएको छ ।’ यसरी नगरप्रमुखले मलाई सेटिंग गरेर फसाउन खोजेको गुनासो गरे । उनले भने ‘आफू कानून कार्यान्वयनकै लागि जनप्रतिनिधिको हैशियतमा थिएँ, इमान्दारीपूर्वक काम गर्ने जनप्रतिनिधिको मनोबल तोड्ने काम भएको छ, आउने दिनमा यस्तै रबैया रह्यो भने ईमान्दारी पूर्वक काम गर्ने वातावरण नै रहँदैन ।
Discussion about this post