जनकपुरधाम, चैत १९ गते ।
भारत भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नेपाल रेल्वेको उदघाटन गर्न लागेका छन् । भारतीय प्रधानमन्त्रीको आवास हैदवरावादमा आयोजना हुने एक कार्यक्रमका बिच दूबै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर नेपाल रेल्वेको संयुक्त रुपमा भर्चुअल माध्यमले उद्घाटन गर्न लागेका हुन् ।
आज १२ बजे देखि १२ः३० बजेको बिचको रेल्वेको उदघाटन गर्ने समय तालिका रहेको छ । दूबै देशका प्रधानमन्त्रीले गर्ने उदघाटन कार्यक्रम आम जनतालाई देखाउनकालागि भारतको जयनगर र जनकपुरधाममा लाइभको व्वयस्था समेत गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले जानकारी दिएका छन् ।
रेल्वेले यसकालागि आवश्यक सम्पूर्ण तयारी पूरा गरि सकेको छ । जनकपुरधामस्थित रेल्वे स्टेशनमा समेत एक कार्यक्रमको आयोजना गरिएको छ जसका लागि पण्डल समेत निर्माण गरि सकिएको छ । जयनगरमा अतिविशष्ट व्यक्तिहरु मात्रै रह्ने र त्यहाँबाट प्रजोक्टरमा दिल्लीमा हुने उदघाटन कार्यक्रम देखाइने महाप्रबन्धक झाले बताए ।
दूवै देशका प्रधानमन्त्रीले रेलको उदघाटन गरेपछि ट्रेन कुर्थाका लागि प्रस्थान गर्नेछ । प्रत्येक स्टेशनमा स्कुलका बालबालिकाहरु नेपाल भारतको झण्डा लिएर रेल्वेको स्वागत गर्ने कार्यक्रम छ । झाले भने ‘प्रत्येक स्टेशनमा १५ जना विद्यार्थी नेपाल भारतको झण्डा बोकेर रेलमा सवार हुनेछन्, उनिहरुलाई समेत त्यही रेलमा चढाएर कुर्थासम्म ल्याउने कार्यक्रम छ ।’
रेल कुर्था पुगेपछि भौतिक पुर्वाधार मन्त्री रेणुकुमारी यादवलाई चढाएर जनकपुरधामस्थित स्टेशनसम्म ल्याइने छ जहाँ उदघाटनको अन्य कार्यक्रम गरिने कार्य तालिका रहेको छ ।
भौतिक पुर्वाधार मन्त्री यादवले रेल्वे संचालनमा आएपछि धनुषाका स्थानियवासीलाई यातायातमा सहजता आउनुका साथै आवतजावत गर्न सहज हुने बताइन् ।
भारतको जयनगर देखि जनकपुरधामको कुर्थासम्म ३४.९ किलोमिटरसम्म चल्ने रेल दिनको दुई पटक गुडाइने छ । यद्यपि शनिबार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रुपमा उद्घाटन गरेपछि एक पटक मात्रै गुड्ने बताइएको छ ।
त्यसपछि बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्ने छ भने दुई घण्टापछि कुर्था स्टेशनमा पुग्ने छ । त्यस्तै जनकपुरधामको कुर्थाबाट पौने ११ बजे रेल्वे जयनगरका लागि प्रस्थान गर्नेछ । सो रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताए ।
जयनगर पुगेको रेल पूनः ३ बजे फर्केर आउने छ भने विहान साढे ८ बजे जयनगरबाट आएको रेल ५ बजेर १५ मिनेटमा फर्कने गरि रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाले बताए । उनले यसरी नै रेल्वे नियमित यात्रुहरुकालागि सञ्चालनमा ल्याइने छ ।
कुर्थादेखि जयनगरसम्मका लागि जेनरल बगीको ९० रुपैयाँ निर्धारण गरिएको छ भने एसीयुक्त बगीका लागि ४ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै एक स्टेशनबाट अर्को स्टेशनसम्मका लागि जेनरल बगीका लागि २० रुपैयाँ एसी बगीमा १ सय रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।
गत फागुन १ देखि जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रुबिहीन) दैनिक एक पटक सञ्चालनमा आईरहेको थियो । नेपालको इनर्वादेखि कुुर्थासम्म गरी नेपाल रेलको सुरक्षामा १ सय ३६ जना प्रहरी खटाइएको छ । ठाउँ ठाउँमा रहेको कूल २२वटा लेवल ट्रैक क्रसमा रेल्वे गुड्ने समयमा सो बाटो भएर आवत जावत बन्द गराउनका लागि २२ जना कर्मचारी खटाइएको महाप्रबन्धक झाले बताए । कुल ८ वटा स्टेशनमध्ये ७ वटा स्टेशनमा टिकेटिङ्गको व्यवस्था गरि सकिएको छ भने परवाहा स्टेशनस्थित भवन निर्माण कार्य पूरा हुन नसकेकाले त्यहाँ अहिले टिकेटिङ्गको व्यवस्था नरहेको झाले जानकारी दिए ।
भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनमा आउन लागेको हो । डिजेल ईलेक्ट्रिक मल्टिपल युनिट डिजेल र विद्युत दुवैबाट चल्ने यि दुवै विश्वमै नयाँ मोडेलका रेलको रुपमा तयार गरिएको निर्माण कम्पनीले दावी गरेको छ । डिपिसि १९०१ र डिपिसि १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका हुन् । प्रति घण्टा ११० किलो मिटरको स्पीडमा चल्नसक्ने रेल एक पटकमा १ हजार ३ सय सम्म यात्रु सवार हुन सक्नेछन् । एउटै ईन्जिन भएपनि दुबै तर्फबाट चलाउन सकिने रेलको एउट बोगिमा ७० वटा सिट रहेको छ ।
२० मिटर लामो रेलको ईन्जिन बाहेक एक एसि र ४ वटा जेनरल बोगि रहेको छ । यो रेलले प्रति किलोमिटर २ लिटर डिजेलको एभरेज दिनेछ । प्रत्येक बोगिमा शौचालयको व्यवस्था गरिएको छ यसका साथै एसी बगी बाहेक अन्य जेनरेल बोगिमा ठाउँठाउँमा पंखा समेत लगाईएको छ ।
१९९४मा इस्ट इन्डिया कम्पनी सरकारले नेपालको जंगलबाट काठ लग्नका लागि रेल्वे लाइन विस्तार गरेको थियो । त्योवेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो ।
पछि भारत सरकारले १८ वटा बगी सहित वाष्प इन्जिन सहयोग गरेको थियो । २०५१ सालदेखि स्टिम इन्जिनयुक्त रेल संचालनमा आएको थियो । २०६१ माघ रेल बन्द भएको थियो । अहिले नेरोगेजबाट ब्रोडगेजमा रेल परिणत गरिएको छ । पहिलो चरणमा ३५ किलोमिटर रेल सेवा सञ्चालन गरिने छ ।
भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग तीन खण्डमा निर्माण भईरहेको छ । परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना रहेकोे छ ।
जस अन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयारी भईसकेको छ भने दोस्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम चलिरहेको छ ।