जनकपुरधाम, बैशाख २ गते
परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशिर्वाद लिइँदै जनकपुरधाम सहितका मिथिला क्षेत्रमा आज जुडशितल पर्व मनाइँदै छ । २०७९नयाँ वर्षको प्रारम्भसँगै दुई दिन मनाइने यो पर्वमा आज श्रेष्ठजनले शीतलजल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशिर्वाद दिएर मनाइँदै गरिएको हो ।
नयाँ वर्षमा मनाइने ‘जुडशितल’ पर्वको पहिलो दिन हिजो ‘सतुवाइन’ सम्पन्न गरिएको थियो । पहिलो दिन अर्थात् ‘सतुवाइन’ मनाइँदा अत्यन्त गुणकारी मानिने जौँ र चनाको सातु तथा सर्वत खाने, ख्वाउने मैथिल परम्परा छ । यस दिन सातु र सर्वत दान गर्ने पनि मैथिल चलन छ ।पर्वको दोस्रो दिन अर्थात् वैशाख २ गते वर्षभरि सहकालको कामना गर्दै जिउमा हिलो छ्यापेर नुहाउने गरिन्छ । दोस्रो दिन घरपरिवारका श्रेष्ठजनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिने गर्दछन् ।
नयाँ वर्र्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरुको भनाइ छ । वर्षभरि खेतीपाती राम्रो हुन सकोस् भन्ने कामनासाथ सन्तुलित वर्षा होस् र हिलोमा धसिएर मुख्य फसल धान रोपाइँ गर्न पाइयोस् भन्ने सन्देशकै लागि हिलो खेल्ने चलन बसेको जनकपुरधाम उपमहानगरपालिका–४ का बासिन्दा रमेश साह बताए ।
गर्मी मौसमको यस पर्वमा चना (बदाम) को सातु, दाल, सोहिजन (मुन्गा) को तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाइने परम्परा छ । यी सबै शाकाहारी र सुपाच्य भोजन मानिन्छन् । दही र मोहीको प्रचुर प्रयोगले गर्मीमा सजिलै खानेकुरा पचाउने उनले बताएका हुन ।
जुडशितल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । जुडशितलका अवसरमा घरमुली आफ्नो बगैँचामा डुल्न निस्कन्छन् । यसरी यस पर्वमा आफ्ना बगैँचाका रुख, बिरुवा नजिकबाट नियालेर सहलाउँदा र सिञ्चित गरिँदा कहिल्यै खडेरीको चपेटामा परेर नमर्ने मैथिल जनविश्वास रहेको छ ।
मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको यस क्षेत्रका राम उदगार साह बताउँछन् ।तस्वीर विकास साहको वालबाट
Discussion about this post