जनकपुरधाम, बैशाख २३ गते ।
आसन्न स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार मनोज कुमार चौधरीले संकल्प पत्र सार्वजनिक गरेका छन् ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि नगरप्रमुख पदका उम्मेदवार चौधरी र उपप्रमुख पदकी उम्मेदवार रिता कुमारी मिश्रले २९ बुँदे संकल्प पत्र सार्वजनिक गरेका हुन् ।
संकल्प पत्र सार्वजनिक गर्दै चौधरीले नीतिगत तथा संस्थागत भ्रष्टाचार मुक्त जनकपुरधाम निर्माणका लागि आफूले मेयर पदमा उम्मेदवारी दिएको बताए ।
उनले आफ्नो उम्मेदवारी ऐतिहासिक, धार्मिक, सांस्कृतिक जनकपुरधामको संरक्षण सम्बद्र्धनको रुपमा विकास गर्न तथा आधुनिक जनकपुरधाम निर्माणका लागि रहेको बताए ।
राजा जनक र याज्ञवल्क्यको यस पावन भुमिलाई शिक्षा तथा स्वास्थ्य क्षेत्रको प्रमुख केन्द्रको रुपमा विकास गर्न, कृषि बजार तथा कृषि उत्पादनको व्यवस्थापन गर्नका लागि जनकपुरधामलाई व्यवसायिक ‘हव’ को रुपमा विकास गर्न तथा जनकपुरधाम उपमहानगरपालिकामा ‘टोल फ्रि कल’ सञ्चालनमा ल्याई जनताको समस्या समयमै समाधान गर्नका लागि आफ्नो उम्मेदवारी रहेको उनले प्रष्ट पारे ।
उनले बाह्य रिङ्गरोड निर्माण गरी ऐतिहासिक, धार्मिक तथा पर्यटकीय नगरको रुपमा विकास गरी आधुनिक जनकपुरधामको निर्माण गर्ने, ल्याण्डफिल्ड साइटको व्यवस्थापन गरी जनकपुरधाम क्षेत्रभित्र रहेको फोहोरमैलाको वैज्ञानिक प्रविधिद्वारा व्यवस्थित गरी फोहोरबाट मोहर बनाउने, जनकपुरधाम नगरभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा स्थानीयस्तरमा पाठ्यपुस्तक तयार गरी पठनपाठनको शुरुवात गर्ने, शहीद परिवार, दलित, विपन्न, असहाय तथा आन्दोलनको क्रममा घाइते भएकाहरुलाई गम्भीर किसिमको बिरामीको उपचारका लागि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा प्रादेशिक अस्पताल जनकपुरधामसँग सहकार्य गरी निःशुल्क स्वस्थ्य उपचारका लागि पहल गर्नेलगायतका आफ्ना प्राथमिकताहरुसमेत सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमा उनले विभिन्न आन्दोलनमा शहादत प्राप्त गरेका परिवार, दलित, अपाङ्ग र विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालयदेखि उच्च शिक्षासम्म निःशुल्क पठनपाठनको लागि पहल गर्ने, महिला तथा युवाहरुलाई शीपमुलक तालिम दिई स्वरोजगारको व्यवस्था गर्ने, युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नका लागि कृषिलाई आधुनिकीकरण तथा व्यवसायिकरण बनाई उनीहरुलाई आयआर्जन गर्ने किसिमको कृषि व्यवसय, कुखुरा पालन, माध्य पालन, दुग्ध व्यवसाय, पुष्प खेती, तरकारी बाली उत्पादन लगायतका कामको व्यवस्था गर्ने, कृषि उत्पादनका लागि आधुनिक उपकरणको व्यवस्था तथा मलको अभाव हुन नदिनका लागि प्रदेश सरकारलाई रासायिनक मलखाद्यको आपूर्ति व्यवस्थाको सुनिश्चित गर्न पहल गर्नेलगायतका बुँदाहरुसमेत आफ्नो प्रतिबद्धता–पत्रमा समावेश गरेका छन् ।
चौधरीले आफू निर्वाचित भए उपमहानगरभित्र सूचना अधिकारी नियुक्त गरी सञ्चारकर्मीहरुलाई चाहिएको सूचना समयमै उपलब्ध गराउने, महिलालाई शीपमुलक तालिम अन्तर्गत मिथिला पेन्टिङ्ग, सिलाई बुनाई, ब्युटिशियन, कम्प्यूटर लगायतका तालिमको व्यवस्था गरी स्वरोजगार योजनालाई सार्थकता दिइने, सुकुम्वासी तथा भूमिहीनहरुका लागि उपमहानगरपालिका भित्र आवासको योजना ल्याउने तथा लालपुर्जाको व्यवस्थाका लागि सम्बन्धित निकायमा पहल गर्ने, गर्भवती महिला तथा बालबालिकाहरुका लागि पोषण युक्त खाद्यन्न कार्यक्रम ल्याउने, नगरभित्र आगलगीबाट हुने क्षतिलाई न्यूनिकरण गर्नका लागि २४ औं घण्टा वारुणयन्त्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिने र प्रतिभावान, गीतकार, संगीतकार, कलाकार, पत्रकार र खेलाडीहरुका लागि प्लेटफर्म बनाई प्रतिभा झाल्काउन छुट्टै योजना ल्याउने प्रतिबद्धतासमेत जनाएका छन् ।
उनले जनकपुरधाम उपमहानगरपालिका भित्रका सञ्चार माध्यमहरुलाई लोक कल्याणकारी विज्ञापनको व्यवस्था गर्ने, उपमहानगरको कार्यालयलाई पत्रकारमैत्री नगरपालिकाको रुपमा विकास गर्ने, जनकपुरधामको पर्यटन क्षेत्रलाई बढावा दिनका लागि रेल्वे स्टेशन, विमानस्थल र बसपार्कबाट जानकी मन्दिरसम्म तीनवटा बस सञ्चालनमा ल्याउने, जनकपुरधामका परिक्रममा सडक लगायत विभिन्न सार्वजनिक स्थलमा शौचालयको निर्माण गर्नुका साथै नगर क्षेत्रभित्र प्रत्येक दुई सय मिटरमा फोहोर मैला संकलन गर्ने सञ्जालको निर्माण गर्ने, जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको खेलकूद स्टेडियम निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने, प्रत्येक वार्डमा फ्रि वाईफाई तथा सीसीटीवी जोनको स्थापना गर्ने, योग गरौं, निरोगी बनौ नारा अन्तर्गत बालबालिकाहरुलाई विद्यालयमै योग कक्षा सञ्चालनमा ल्याउने जस्ता कार्यक्रमहरु आफ्नो योजनामा समावेश रहेको बताए ।
पत्रकार सम्मेलनमा उपप्रमुख पदकी उम्मेदवार रिता कुमारी मिश्रले प्रदेश र संघीय सरकारसँग सहकार्य गरी पिडारी चोकस्थित बागवानी केन्द्रमा अन्तर्राष्ट्रियस्तरको बोटानिकल गार्डेन तथा एग्रीकल्चर रिसर्च सेन्टर निर्माण गर्ने साथै भ्यूटावरको निर्माण गरी स्ट्रोनोमिकल रिसर्च सेन्टर तथा मेट्रोलोजिकल रिचर्स सेन्टर निर्माण गर्ने, परिवारविहीन भएका बालबालिका र वृद्धहरुका लागि परिवारिक वातावरण तयार गर्न नगरभित्र रहेका वृद्धाश्रम तथा अनाथ आश्रमलाई व्यवस्थित गर्ने, बुद्धिजीवि, समाजसेवी तथा विषयगत विज्ञहरुलाई समेटेर जनकपुरधामको दिगो विकासको योजना निर्माण तथा कार्यान्वयनका लागि ‘थिन्कटयांक’ निर्माण गर्ने आफूहरुको मुख्य योजना रहेको सुनाइन् ।
साथै निःशुल्क टोलफ्रि नम्बर मार्फत नगर प्रमुखलाई सिधा सम्पर्क गर्नुका साथै प्रत्येक शनिवार एउटा वडामा नगरप्रमुखसँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रमको व्यवस्था गर्ने, जनकपुरधाम विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नका लागि प्रदेश तथा संघीय सरकारलाई आग्रह गर्ने र जनकपुरधामलाई भारतको विभिन्न धार्मिक नगरीसँग जोड्न पहल गर्ने, जनकपुरधाममा उद्योग व्यवसायीमा लगानीका लागि उचित वातावरण सिर्जना गर्ने, नगरभित्र महिला हिंसा न्यूनिकरणका लागि छुट्टै टोलफ्रि नम्बरको व्यवस्था गरी तत्कालै कारवाहीको लागि कर्मचारी खटाउने, जनकपुरधामलाई धार्मिक नगरीका साथै क्लिन एण्ड ग्रिन सिटी बनाउन नगरभित्रमा एकघर एक विरुवा लगाउन अभियान चलाउने र सेवाग्राहीलाई छिट्टो छरितो सेवा प्रदान गर्नका लागि आधुनिक प्रविधिलाई प्रयोगमा ल्याउनेलगायतका योजनाहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
Discussion about this post