जनकपुरधाम, माघ ९ गते ।
प्रधानमन्त्री शेरवहादुर देउवा र भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुत्ला दहन गरेका छन् । नेकपा एमालेका भातृ संगठन युवा संघ नेपालले प्रम देउवा र मन्त्री यादव विरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेको हो । आइतवार युवा संघका नेता तथा कार्यकर्ताहरुले नगरमा सरकार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाई गरेको र हिंसात्मक अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार विकासमन्त्री मन्त्री रेणु यादवलाई बर्खास्त गर्न नचाहेको भन्दै यूवा संघले पुतला दहन गरेको हो ।
स्थानीय रेल्वे स्टेशनबाट निकालिएको विरोध र्यालीमा सहभागी युवाहरूले नरसंहारवादी मुर्दावाद, रेणु यादवलाई मन्त्री पदबाट बर्खास्त गर, हत्यारा सरकार चाहिँदैन, मापसे सरकार मुर्दावाद, स्थानीय तहको निर्वाचनको मिति घोषणा गर, अपराधी देउवा सरकार मुर्दावाद जस्ता नारासमेत लगाएका थिए ।
प्रदर्शनमा सहभागी युवा संघका मधेस प्रदेश अध्यक्ष जानी खान मधेसीले अगामी निर्वाचनमा एमाले दुई तिहाई बहुमत ल्याउने डरले सरकारले निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाए ।
कानुनलाई हातमा लिएर आफ्नो पदीय मर्यादा बिर्सिँदै हिंसात्मक अभिव्यक्ति दिएकाले मन्त्री यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त नगरे कडा आन्दोलनमा जाने उनले चेतावनी समेत दिएका छन् ।
गएको बुधबार बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले पुनः गौर नरसंहार दोहरिने र जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या समेत हुने चेतावनी दिएकी थिइन् । पदीय मर्यादा विपरीत दिएको सो हिंसात्मक अभिव्यक्तिलाई लिएर उनको चौतर्फी आलोचना भइरहेको छ । उनलाई तत्कालै बर्खास्त गरी कारबाही गर्नुपर्ने र २०६४ मा भएको गौर नरसंहार घटनाका दोषीहरुलाई कानुनी दायरामा ल्याउनु पर्ने माग जोडतोडले उठेको छ । यसले यादवको मन्त्री पद समेत धरापमा परेको छ ।
उनको सो अभिव्यक्तिका कारण अहिले सर्वत्र आलोचना भइरहेको छ । उनलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि चौतर्फी दबाब परेको छ ।
Discussion about this post