नेपाली कांग्रेस धनुषाको पदाधिकारीहरूमा पनि विमलेन्द्र निधि समूहका उम्मेदवारले जित हात पारेको छ । आइतबार सम्पन्न मतगणनामा निधि समूहका गणेश झा र लक्ष्मीनारायण यादव उपसभापतिमा निर्वाचित भएका छन् । झाले १ हजार १४९ र यादवले १ हजार २५४ मत प्राप्त गरेका छन् ।
देउवा समूहको तर्फबाट उपसभापतिमा उम्मेदवारी दिएका सुरेन्द्रप्रसाद चौधरी ९मुन्ना० ले ७९८ र रामसोभित दाहा धानुकले ७६५ मत ल्याएका छन् ।
त्यसैगरी शेखर कोइराला समूहका गणेश जयसवालले ७०८ र हरिशंकर साहले ५९६ मत प्राप्त गरेका छन् ।
दुई जना सचिव पदमा पनि निधि समूहका उम्मेदवार विजयी भएका छन् । निधि समूहका कन्हैयाकुमार कर्ण र देवेन्द्रकुमार भरखेर सचिवमा विजयी भएका हुन् । कर्णले १ हजार १६० र भरखेरले १ हजार १७७ मत ल्याएका छन् ।
देउवा समूहको तर्फबाट सचिवमा उम्मेदवारी दिएका धिरेन्द्रमोहन झाले ८३३ र शिवशंकर गोइत साधुले ८३२ मत प्राप्त गरेका छन् ।
सहसचिव पदको मतगणना जारी रहेको जिल्ला निर्वाचन समितिले जनाएको छ । यसअघि सभापतिमा निधि समूहका योगेन्द्र पजियार निर्वाचित भइसकेका छन् ।
शुक्रबार भएको दोस्रो चरणको निर्वाचनमा देउवा समूहका सन्तोष यादवलाई ६८९ मतले पराजित गर्दै पजियार सभापतिमा निर्वाचित भएका हुन् ।
दोस्रो चरणको निर्वाचनमा २ हजार ८१४ मत खसेको थियो। पजियारले १ हजार ७३५ मत पाउँदा उनका प्रतिस्पर्धी यादवले १ हजार ४६ मत ल्याएका थिए ।
Discussion about this post