जनकपुरधाम,बैशाख ६ गते
स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नका लागि दल परिवर्तन गर्ने होडवाजी अहिले पनि रोकिएको छैन । टिकट पाउने आसमा कयौँ नेताहरु पार्टी परित्याग गर्न समेत पछाडी परिरहेका छैनन् । यसै क्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट जनकपुरधामको नगरप्रमुखका लागि सिफारिश समेत भएका जानकीराम साह पार्टी परित्याग गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७को वडाध्यक्ष समेत रहेका साह आज पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् । कुनै बेला नेकपा एमाले विरुद्ध चर्काे नाराबाजी गर्ने साह आज मैदान छाडेर टिकट पाउने लोभमा एमालेमा प्रवेश गरेको लोसपाका नेताहरु बताउँछन् । मेयरका लागी नगरबाट सिफारिस गरी पठाएको नाममा छलफल जोडतोडका साथ भइरहेको थियो । तर छलफल चलिरहेकै अवस्थामा टिकट पाउने लोभमा पार्टी परित्याग गर्नु इमान्दार नेता हुन नसक्ने भन्दै एक नेताले त्यस्ता चरित्र भएको नेता अवसरवादी हुन्छन् बताए ।
तत्कालिन राजपाबाट जनकपुरधाम वडा नं. ७ को वडाध्यक्षमा निर्वाचित साह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिको निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन् । मेयर पदका प्रत्यासी रहेका साहले लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपा परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् । लोसपाले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि ५ जनाको नाम सिफारिस गरेको थियो । लोसपाले मेयरका लागि प्रदेशसभा सदस्य परमेश्वर साह, जानकीराम साह, अमर पजियार, मनोज चौधरी र संजय कुमार चौधरीको नाम सिफारिस गरेको थियो ।
Discussion about this post